पर्सामा शङ्कास्पद वस्तुसहित प्रतिनिधिसभा उम्मेदवारसहित चार पक्राउ
वीरगन्जः पर्सा प्रहरीले शङ्कास्पद वस्तुसहित प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार मनोजकुमार चौधरीसहित चार जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त जाँच टोलीले हरपुरबाट बडनिहारतर्फ जाँदै गरेको बा१०च १२५० नम्बरको गाडी जाँच गर्ने क्रममा डिक्कीभित्र पहेँलो टेपले बेरिएको टिनको बक्सामा राखिएको शङ्कास्पद वस्तु फेला पारेको जनाएको छ।
पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। पक्राउ पर्नेमा ४६ वर्षीय उम्मेदवार चौधरीसहित बाराको प्रसौनी गाउँपालिका–४ का सहाब आलम अन्सारी, धनुषाको धनुषाधाम नगरपालिका–४ का सुरज कार्की र पर्सागढी नगरपालिका–३ का सत्यनारायण थारू रहेका छन्।
यसैबीच, वीरगन्ज महानगरपालिका–१६ इनर्वागाउँमा विशेष सूचनाका आधारमा खटिएको एकीकृत सुरक्षा टोलीले नौ थान सुतली बम, सुँगुरको एक टाउको र १० मिटर तारसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले पक्राउ परेका व्यक्तिमाथि विस्फोटक पदार्थसम्बन्धी कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर तथा निर्वाचनसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जानकारी दिए।