सुदूर नेपाललाई विश्वसँग जोड्दै

यातायात कार्यालय महेन्द्रनगरले घुस खाएर चालक अनुमतिपत्र दिएको पुष्टि

२०७६ वैशाख १२, ०५:०८ खबर संवाददाता

यातायात व्यवस्था कार्यालय महेन्द्रनगर कन्चनपुरले घुस खाएर चालक अनुमतिपत्र दिएको पुष्टि भएको छ। मोटरसाइकल र स्कुटरको सवारी चालक अनुमतिपत्र वितरण गर्दा रकम असुल्दै वितरण गरेको पुष्टि भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार यातायात महेन्द्रनगरले घुस खाएर चालक अनुमतिपत्र दिएको पुष्टि भएको हो। कार्यालयले मोटरसाइकल र स्कुटरको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण र अनुपस्थित भएका ८ जना परीक्षार्थीहरूलाई पास गराई सवारी चालक अनुमतिपत्र दिएको अख्तियारले दावी गरेको छ। 

२०७२ असार १६ गतेदेखि २६ गते सम्म सञ्चालन भएको प्रयोगात्मक परिक्षामा असफल भएका परीक्षार्थीहरूबाट ५ देखि १५ हजार रकम असुल गरी चालक अनुमतिपत्र दिएको उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो। यातायात व्यवस्था कार्यालय, कन्चनपुरका तत्कालीन निमित्त कार्यालय प्रमुख एवं परीक्षा समितिका अध्यक्ष सिताराम खनाल, मेकानिकल इन्जिनियर एवं परीक्षा समितिका सदस्य योगेन्द्रप्रसाद गुप्ता र जिल्ला ट्राफिक प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक एवं परीक्षा समितिका सदस्य बाबुकाजी गिरीको संगलनतामा चालक अनुमती पत्र वितरण गरिएको खुलेको छ। 

उक्त कुरा पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको स–प्रमाण पुष्टि भएकाले तीनै जनालाई सजाय हुन मागदाबी गर्दै आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

कमेन्ट लोड गर्नुस