सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको शिखर नगरपालिकाले आइतवार बिदाबारे संघीय सरकारसँग समाधान माग्यो

२०८३ वैशाख २, ०६:५१ नारायण अवस्थी

धनगढीः डोटीको शिखर नगरपालिकाले आइतबारसमेत बिदा दिने सरकारी निर्णयका कारण शैक्षिक सत्र सञ्चालनमा समस्या देखिएको भन्दै संघीय सरकारसँग समाधानका लागि पहल गर्न आग्रह गरेको छ।

नगरपालिकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र लेख्दै विद्यालयमा आवश्यक न्यूनतम पढाइ दिन पूरा गर्न कठिन भएको जनाएको छ। पत्र अनुसार, हाल सार्वजनिक बिदा, शनिबार र आइतबारको बिदा तथा विभिन्न नियमअनुसार थप बिदा जोडिँदा विद्यालय खुलेर पढाइ हुने दिन अत्यन्त कम भएको उल्लेख गरिएको छ।

शिक्षा नियमावलीअनुसार विद्यालय कम्तीमा २२० दिन सञ्चालन हुनुपर्ने व्यवस्था भए पनि हालको बिदा व्यवस्थापनका कारण उक्त मापदण्ड पूरा गर्न समस्या भइरहेको नगरपालिकाको भनाइ छ। अझै परीक्षा सञ्चालन, अतिरिक्त क्रियाकलाप, शिक्षक बिदा तथा विद्यार्थी अनुपस्थितिलाई समेत जोड्दा वास्तविक पठनपाठनका लागि समय निकै सीमित हुने अवस्था देखिएको छ।

नगरपालिकाले यस्तो अवस्थाले शैक्षिक गुणस्तरमा प्रत्यक्ष असर पार्ने भन्दै चिन्ता व्यक्त गरेको छ। साथै, शैक्षिक सत्रको प्रभावकारी व्यवस्थापनका लागि स्पष्ट नीतिगत समाधान आवश्यक रहेको उल्लेख गरिएको छ।

यस समस्याको समाधानका लागि समन्वयात्मक ढंगले आवश्यक निर्णय गर्न संघीय सरकार तथा सम्बन्धित मन्त्रालयसँग राय/सुझावसहित पहल गरिदिन अनुरोध गरिएको छ। नगर कार्यपालिकाको बैठकबाट निर्णय गरी उक्त पत्र पठाइएको जनाइएको छ।

शिखर नगरपालिकाले समयमै समाधान नभए शैक्षिक सत्र सञ्चालन झनै जटिल बन्न सक्ने चेतावनीसमेत दिएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस