सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणमा कसरी लाग्यो ‘ब्रेक’?

२०८० भदौ २९, ०१:४३ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको काममा ब्रेक लागेको छ।

चिनिया एक कम्पनीसँग केन्द्र निर्माणका लागि सम्झौता यसअघि नै भइसकेको भए पनि निर्माणले गति लिन सकेको छैन्। दुई वर्षभित्र केन्द्र निर्माणको काम पुरा हुने गरी गत वर्ष नै चिनिया कम्पनीसँग सम्झौता गरिएको थियो। धनगढी उपमहानगरपालिका–७ स्थित पटेलामा क्षेत्रीय सहरी विकास आयोजनाले केन्द्र निर्माणका लागि ठेक्का सम्झौता गरेको हो।

एसियाली विकास बैंक (एडीबी)को सहुलियत ऋण सहयोगमा धनगढीमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी सिचुवान प्रोभिन्स जियोलोजिकल इन्जिनियरिङसँग सम्झौता भएको थियो। ९६ करोड ८२ लाख ३९ हजार ६ सय ४६ रुपैयाँ ६३ पैसामा धनगढीमा दुई वर्षभित्रै एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको सम्झौता छ।

फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण स्थलमा दुई हजार रुख काट्नुपर्ने देखिएको छ। रुख कटानका लागि वातावरणीय प्रभाव मुल्याँकन (इआए) समेत स्वीकृत भइसकेको छ। गत फागुन १५ गते इआए स्वीकृत भएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालयले जनाएको छ। तर केन्द्र निर्माणको काम अलपत्र परेको छ।

केन्द्र निर्माणका लागि रूख कटान आदेश नपाउँदा काम सुरु भएको छैन। दुई वर्षभित्र फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने सर्तसहित गत वर्ष पुसमा सम्झौता भएको थियो। रूख कटान आदेशका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन मन्त्रालयमा बुझाइसकिएको आयोजना कार्यालयले जनाएको छ। केन्द्र बनाउने २२ हेक्टरमा करिब दुई सय बिरुवा काट्नुपर्ने क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनियर सौरभ कलौनीलेले बताए।

कमेन्ट लोड गर्नुस