सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा

२०८० भदौ २९, ०८:०० खबर संवाददाता

काठमाडौँ: आजदेखि दुई नयाँ नेपाली चलचित्र ‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आएका छन्। आउँदो हरितालिका तीजलाई लक्षित गर्दै दुवै चलचित्र प्रदर्शन गरिएका हुन्। सामाजिक विषयवस्तुमा आधारित भए पनि प्रस्तुतीकरणका कारण दुवै चलचित्रका लक्षित दर्शक फरक छन्।

नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक विपीन कार्कीले चलचित्र ‘एक भागवत् र एक गीता’ (सामाजिक प्रेमकथा)’मा ‘कमलामाई’को भूमिकामार्फत यौनिक लैङ्गिक अल्पसङ्ख्यक समुदायको जीवनलाई प्रस्तुत गरेका छन्।

चलचित्रमा अभिनेता कार्कीसँगै धीरज मगर, सुहाना थापा, कविर खड्का, जेविश श्रेष्ठ र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झालगायत कलाकारले अभिनय गरेका छन्। सुनिलकुमार थापाले निर्माण गरेको उक्त चलचित्रमा निर्देशक थापासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुङ्गेलले पटकथा, राजेश श्रेष्ठले छायाँङ्कन, मित्र डी गुरुङले सम्पादन तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्।

आजैदेखि राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्र ‘नाङ्गो गाउँ’ पनि प्रदर्शनमा आउदै छ। यसमा समाजलाई परिवर्तन गर्न राजनीतिको आवश्यकता र गाउँ पातलो हुँदै गएको विषयवस्तु देखाइएको छ। चलचित्रमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अङ्कित खड्का, पुष्कर गुरुङलगायत कलाकारले अभिनय गरेका छन्। यसको कथा स्वयं निर्देशक लामाले लेखेका हुन्। 

कमेन्ट लोड गर्नुस