सुदूर नेपाललाई विश्वसँग जोड्दै

डाक्टरमाथि हातपात गर्नेलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन चिकित्सक संघको माग

२०८० भदौ २८, ०९:१८ खबर संवाददाता

काठमाडौंः  नेपाल चिकित्सक संघले हेटौंडामा डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन सरकारलाई अल्टिमेटम दिएको छ।

संघले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाउँदै हेटौंडाको सन्चो अस्पतालमा डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन अल्टिमेटम दिएको हो। ७२ घण्टाभित्र डाक्टर कुट्नेमाथि कारबाही प्रक्रिया अघि नबढे देशभरका सबै अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने संघका महासचिव डा. सजिव तिवारीले चेतावनी दिए।

 ‘७२ घण्टाभित्र उक्त घटनामा सलग्न दोषीलाई कानूनी कारबाही नगरिएको अवस्थामा संघले देशभर आकस्मिक सेवा बाहेकका अन्यू सम्पूर्ण सेवा बन्द गरेर आफ्नै ज्यानको सुरक्षामा खटिन बाध्य हुनेछौं’ डा. तिवारीले भने, ‘यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवार नेपाल सरकार स्वय हुनेछ।’

बुधबार राति सन्चो अस्पतालमा कार्यरत डा.विकास थापा र डा. प्रशान्त विडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो। कुटपिटमा संलग्नको आरोपमा प्रहरीले हेटौंडामा बिहीबार दुई जनालाई पक्राउ गरेको छ। नेपाल चिकित्सक संघको माग प्रति नेपाल सरकारी चिकित्सक संघले पनि ऐक्यबद्धता जनाएको छ। सरकारी चिकित्सक संघले विज्ञप्ती जारी गर्दै डा. थापा र बिडारी माथि कुटपिट गर्नेलाई कानूनी दायरामा ल्याउन माग गरेको छ।

कमेन्ट लोड गर्नुस