सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका वडा सदस्यहरुको गुनासो : दस्तखत गर्ने बाहेक अन्य जिम्मेवारी पाएनौँ

२०७६ वैशाख १२, १२:०८ जनक विष्ट

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ की ईश्वरी देवी आचार्य, वडा सदस्य भएपछि जनताको काममा खटिने अवसर मिलेको भन्दै हौसिएकी थिईन्। आचार्य जनप्रतिनिधि भएको आउँदो असारमा दुई वर्ष पुग्दैछ। तर उनले जिम्मेवारी नपाउँदा जनताको काममा प्रत्यक्ष सहभागी हुने अवसर पाएकी छैनन् भने वडा कार्यालयले बैठकमा बोलाएमा सहभागिता जनाई दस्तखत गरेर फर्किनमै दिनचर्या ठिक्क भएको छ।

यसै कारण आफू जनप्रतिनिधी भएको महसुस नभएको उनको भनाई छ। आचार्य मात्र होईन कैलालीका अन्य स्थानीय तहका वडा सदस्यहरुले पनि प्रमुख उपप्रमुख÷अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष झै गरी जिम्मेवारी नपाएको भन्दै जनप्रतिनिधी भएको अनुभुती नभएको बताएका छन्। उनीहरुले वडा कार्यालय र स्थानीय पालिकाले आवश्यकता पर्दा मात्र बोलाउने गरेपनि निश्चित जिम्मेवारी भने नमिलेको गुनासो गरेका छन्।

वर्षमा एक पटक नगर परिषद् र महिनामा दुई÷तीन पटक बस्ने बैठकमा सहभागिता जनाउन पाएपनि गाउँपालिका तथा नगरपालिकाले आफूहरुसंग कुनैपनि विषय सल्लाह समेत नलिने आरोप पनि वडा सदस्यहरुको रहेको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर वडा नम्बर ५ का वडासदस्य बब्लु कुमार चौधरीले वडा अध्यक्षले दिएको काम गर्दै आएको तर निश्चित जिम्मेवारी भने नपाएको बताए।

उनले वडा कार्यालयको बैठकमा महिनामा दुई तीन पटक सहभागिता जनाउन पाएपनि उमपहानगरपालिकाले भने आफूहरुसंग कुनै समन्वय नै नगर्ने गरेको गुनासो गरे। ‘वर्षमा एक पटक नगर परिषद्मा मात्रै बोलाउने गरेको छ, उनले भने, कहिले कही त जनप्रतिनिधी नभएको भान हुन्छ।’गाउँपालिका र नगरपालिका तथा वडा कार्यालयले खटाएको काम गर्दै आएका कतिपय वडा सदस्यहरुलाई स्थानीय स्तरमा सञ्चालन भएको योजनाको अनुगमन गर्ने जिम्मेवारी दिईएको पाईएको छ।

त्यस्ता वडा सदस्यहरु के गरिरहेका छन् त ? आफ्नो वडामा योजना अनुगमनको जिम्मेवारी पाउनुभएकी धनगढी उपमहानगरपालिका ६ की वडा सदस्य धर्मादेवी सार्कीले सडक, खानेपानी लगायतका पूर्वाधार विकासका योजना अनुगमन गर्दै आएको बताईन्। वडामा कार्यान्वयन भइरहेको योजना राम्रो भए हस्ताक्षर गरेर सिफारिस गर्दै आएको उनी बताउछिन्।

स्थानीय तहको निर्वाचन सम्बन्धी संविधानले गरेको व्यवस्था अनुसार गाउँपालिका तथा नगरपालिकाका वडाहरुमा अध्यक्ष सहित महिला, दलित वा अल्पसंख्यक तथा अन्य गरेर चार जना सदस्य निर्वाचित भएका छन्। सुदूरपश्चिमका ८८ वटा स्थानीय तहका सात सय ३४ वडाबाट २ हजार नौ सय ३६ वडा सदस्यहरु रहेका छन्। कैलालीमा मात्र पाँच सय चार जना वडा सदस्य रहेका छन्।

तर जिम्मेवारी नपाउँदा उनीहरु गुमनाम भएका छन्। धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर ओडले भने वडा सदस्यहरुलाई जिम्मेवारी माग्न आग्रह गरेका छन्। तर समावेशी सिद्धान्तका आधारमा स्थानीय तहमा वडा सदस्यहरु  निर्वाचित भएपनि जिम्मेवारी बाडफाँडमा गरिएको विभेदका कारण यस्तो अवस्था आएको कतिपय जानकारहरुको मत रहेको छ।  
 
 

 
  
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस