सेती प्रादेशिक अस्पतालबाट किन लखेटिए डाक्टर पाण्डे?
धनगढीः कर्मचारी समायोजनका बेला प्रदेशमा समायोजन रोज्ने दुई जना वारिष्ठ चिकित्सक थिए। एघारौं तहका डाक्टर गुणराज अवस्थी र डाक्टर हेमराज पाण्डेको रोजाइमा प्रदेश परेको थियो। डाक्टर अवस्थी प्रदेश स्वास्थ्य निर्देशकबाट सेवा निवृत्त भइसकेका छन् भने २०५७ देखि सेती अस्पतालमा कार्यरत डाक्टर पाण्डे एघारौं तहमा बढुवा भएको दुई वर्षपछि अर्थात् २०७५ को साउनमा सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त भएका थिए।
डाक्टर पाण्डे सुदूरपश्चिम सरकारका सबभन्दा सिनियर चिकित्सक हुन्। डाक्टर पाण्डेलाई सेतीको मेसुमा नियुक्त गरिएको करिब एक वर्षपछि सेती अस्पताल व्यवस्थापन समितिको गठन गरिएको थियो। अध्यक्षमा नियुक्त दुर्गाप्रसाद जोशी सेतीमा आएसँगै डाक्टर पाण्डेलाई मेसुबाट हटाउन चलखेल सुरू भएको थियो। त्यो चलखेल सामाजिक विकास मन्त्रालयको चाहनामा भएको थियो। डाक्टर पाण्डेलाई हटाएर डाक्टर निरज अर्याललाई मेसु बनाउने खेल त्यो बेला सफल हुन सकेको थिएन।
मेसुमा नियुक्त भएपछि डाक्टर पाण्डेको नेतृत्वमा अस्पतालमा केही सुधारका काम भएका थिए। अस्पतालको सरसफाइदेखि विभिन्न सेवाहरू पनि विस्तार भएका छन्। सेतीमा डायलाइसीस सेवा, आइसियु सेवा, सिटीस्क्यान र एमआइआई खरिद र सञ्चालन, इएचएस सेवा सञ्चालन गर्ने कार्यको अगुवाई डाक्टर पाण्डेले गरेका थिए। जसमा व्यवस्थापन समिति, सामाजिक विकास मन्त्रालय, तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्ट र संघ सरकारले सेती अस्पताललाई आवश्यक सहयोग गरेका थिए।
५० शय्याको स्वीकृत अस्पताल भए पनि ३२५ शय्यामा बिरामीलाई सेवा दिनु चानचुने विषय होइन। यो सबै विषयको अगुवाई प्रशाननिक प्रमुखको रुपमा डाक्टर पाण्डेले अगुवाई गरेका हुन्। कोभिड संक्रमणको भयावह अवस्थामा सेतीबाट बिरामीलाई उपचार सेवा दिने कार्यको नेतृत्व पनि डाक्टर पाण्डेले गरेका हुन्।
सेवाकालको अधिकांश समय सेतीमा बिताएका पाण्डे सुदूरपश्चिम सरकारका एक्ला सिनियर चिकित्सक मात्रै होइनन् वरिष्ठ बालरोग विशेषज्ञ चिकित्सक पनि हुन्। जागीरे जीवनको उर्जाशील समय सेती अस्पताल र सुदूरपश्चिमका बिरामीको उपचार गर्न समर्पण गरेका डाक्टर पाण्डेलाई कोभिडको समयमा उत्कृष्ट काम गरेको भन्दै संघीय सरकारले पुरस्कृत पनि गरेको छ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले डाक्टर पाण्डेलाई २०७९ बैशाख १ मा सुप्रबल जनसेवाश्री प्रदान गरेकी थिइन्। यिनै डाक्टर पाण्डे प्रदेशको सबैभन्दा वरिष्ठ चिकित्सक भएर पनि अहिले भने प्रदेश सरकारको कोपभाजनमा परेका छन्। सेतीमा मात्रै होइन प्रदेशभर एघारौं तहको डाक्टर अर्को नभएको बेला सेतीको मेसुबाट मात्रै होइन अस्पतालबाट नै डाक्टर पाण्डेलाई महेन्द्रनगर लखेटिएको छ।
जागीरे जीवनको उत्तरार्धमा लखेटियो
सेतीबाट नै डाक्टर पाण्डेको जागीरे जीवनको सुरुवात भएको थियो। केही समय बाजुरा र काठमाडौंमा काम गरेका उनले २०५७ देखि निरन्तर बालरोग बिषेशज्ञको रुपमा उपचार सेवा प्रदान गरेका छन्। सेवानिवृत्त हुन केबल चार वर्ष बाँकी रहेका बेला प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयले भदौ ६ मा डाक्टर पाण्डेको महाकाली अस्पताल महेन्द्रनगरमा सरुवा गरिएको छ।
सरुवाको निर्णय भएको दोस्रो दिन अर्थात् भदौ ७ गतेबाट विदा बसेका डाक्टर कामम फर्किएका छैनन्। उनले सरुवाको विषयमा सार्वजनिक धारणा नराख्ने बताए पनि प्रेसर र सुगरको बिरामी आफूलाई सेवा निवृत्त हुने समय चार वर्ष बाँकी रहदा महेन्द्रनगर सरुवा गरिनु पुरस्कार हो या दण्ड भनेर बुझ्न नसकेको संक्षिप्त प्रतिक्रिया दिए। रिटायर्ड हुन लागेको कर्मचारीलाई घर पायकबाट अपायक सरुवा नगरिनु पर्ने भए पनि आफ्नो सरुवा घरबाट टाढा हुनुले सोच्न बाध्य बनाएको डाक्टर पाण्डेले बताए।
के भन्छन् सामाजिक विकास मन्त्री साउँद?
डाक्टर हेमराज पाण्डेको सरुवाको विषयमा सामाजिक विकास मन्त्री झपटबहादुर साउँदसँग जिज्ञासा राख्दा उनले डाक्टर पाण्डेको सरुवा नियम संगत रहेको बताए। सरकारले समय पुगेको कर्मचारीलाई आवश्यकताका आधारमा एक कार्यालयबाट अर्को कार्यालय सरुवा गर्न सक्ने भएकाले डाक्टर पाण्डेको सरुवा महाकाली अस्पतालमा भएको मन्त्री साउँदले बताए।
‘डाक्टर पाण्डेको सरुवा नियमित प्रक्रिया अन्तर्गत भएको हो,’ उनले भने, ‘हामीले सेती मात्रै होइन महाकाली, टीकापुर र जिल्ला अस्पतालमा पनि सेवा विस्तार गर्नुपर्ने हुन्छ। महाकालीमा बालरोगको उपचार राम्रो होस् भनेर डाक्टर पाण्डेलाई त्यहाँ पठाइएको हो।’
सेती अस्पताल सुधारको नारा, सिनियर डाक्टर खेदिए टाढा
प्रदेश सरकारले सेती अस्पतालको सुधार गर्ने भाषण गर्दै आएको छ। मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीले स्वास्थ्य सेवाको सुधारको थालनेर सेतीबाट गर्ने बताउने गरेका छन्। तर, सेतीमा सुधारको सुत्र चाहिँ के हो भन्ने अझसम्म देख्न पाइएको छैन। ओएण्डएम बनाएर दुई सय शय्या क्षमताको अस्पताल बनाएर सेतीको सुधार गर्ने योजना सामाजिक विकास मन्त्रालयको छ। तर, अहिले ५० शय्याको अस्पताल भए पनि ३५० शय्यामा बिरामीको उपचार हुने गरेको छ।
सेतीमा स्थायी चिकित्सक जम्मा ७ जना मात्रै रहेकोमा डाक्टर पाण्डेको सरुवा भएको छ। अर्का डाक्टर जगदीश जोशी प्रदेश स्वास्थ्य निर्देशकको जिम्मेवारीमा छन भने डाक्टर निरज अर्याललाई प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको पनि जिम्मेवारी दिइएको छ। डाक्टर अर्याल भने अस्पताल र आपूर्ति व्यवस्थापन केन्द्र दुबैतिर काम गरिरहेका छन्। यसरी भएका विषेशज्ञ चिकित्सक अन्यत्र पठाएर सेतीको सेवा सुधार कसरी होला भन्ने स्वाभाविक प्रश्न उब्जिएको छ।
किन लखेटियो डाक्टर पाण्डेलाई?
डाक्टर पाण्डेको कम बोल्ने र भनसुन नगर्ने स्वभावका कारण उनलाई तत्कालीन सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले हटाउन खोजेका थिए। त्यो समय डाक्टर पाण्डेको पक्षमा बनेको जनमत विरुद्ध सामाजिक विकास मन्त्रीले हटाउने निर्णय गर्न सकेका थिएनन्। अहिले सर्वसाधारणको अस्पतालप्रति व्यापक गुनासो बढेका बेला डाक्टर पाण्डेलाई महेन्द्रनगर सरुवा गराएर सेतीको मेसु उनीभन्दा कनिष्ठ चिकित्सकलाई दिन सहज भएको छ।
डाक्टर पाण्डे कसैको भनेको नसुन्ने नियमअनुसार गर्न खोज्ने भएकाले पनि उनको यो स्वभाव सरुवाको लागि एक कारण भएको हुन सक्ने अस्पतालमा कार्यरत उनका सहकर्मीले बताएका छन्। सामाजिक विकास मन्त्रालयमा पनि आफैं गएर छलफल र समन्वय नगर्ने बानीका कारण पनि डाक्टर पाण्डे मन्त्रीको निसानामा परेको हुन सक्ने बताइएको छ।
यस्तै, सेती अस्पतालमा आफू निकटक कर्मचारी भर्ना गर्न सहज होस् भन्ने चाहने समूहले पनि डाक्टर पाण्डेको सरुवाका लागि तीब्र लबिङ गरेको बुझिन आएको छ। आफू पनि भनसुन नगर्ने र अरुको भनसुनको पनि मतलब नगर्ने भएकाले भने अनुसार गर्ने चिकित्सकलाई मेसु बनाउन डाक्टर पाण्डेको सरुवा गरिएको तर्क गरिएको छ। डाक्टर पाण्डेलाई मेसुबाट मात्रै हटाएर कनिष्ठलाई मेसु बनाउँ सार्वजनिक रुपमा प्रश्न उठ्ने भएकाले डाक्टर पाण्डेलाई महेन्द्रनगर सरुवा गराएर ठेगान लगाइएको डाक्टर पाण्डे निकट स्रोतको दाबी छ।