सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर पहाडका आधा दर्जन सडकमा एक हजार बढी ‘मृत्यु स्तम्भ’

२०८० भदौ २४, ०१:५६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा सवारी दुर्घटनामा परेर पछिल्लो पाँच वर्षको अवधिमा झण्डै ९ सय जनाको मृत्यु भएको छ।

सवारी दुर्घटनामा वर्षेनि ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि पहाडी जिल्लाका आधा दर्जन राजमार्गमा एक हजारभन्दा बढी ‘मृत्यु स्तम्भ’ राखिएका छन्। सडक दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा आफन्तले दुर्घटनास्थलमै मृत्यु स्तम्भ बनाउने गरेका छन्। भीमदत्त राजमार्गको डडेल्धुरादेखि बुडरसम्मको ५५ किलोमिटर सडक खण्डमा मात्र एक सयभन्दा बढी मृत्यु स्तम्भ निर्माण गरिएका छन्।

राजमार्गका हरेक मोडमा मृतकको सम्झनामा आफन्तले स्तम्भ बनाउने गरेका हुन्। चालकको लापरबाही, साँघुरो सडक र ट्राफिक प्रहरीको निगरानी नपुग्दा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या वर्षेनि बढ्दै गएको छ। पहाडी जिल्लाका आधा दर्जन राजमार्गमा एक हजारभन्दा बढी मृत्युस्तम्भ निर्माण गरिएका छन्।

दुर्घटनामा परी मृत्यु भएका परिवारजनले राजमार्गको दायाँ–बायाँ मृत्यु स्तम्भहरु बनाउने गरेका छन्। सुदूरपश्चिम प्रदेशभित्र पछिल्लो पाँच वर्षको अवधिमा ८ सय ७५ भन्दा बढी जनाले सवारी दुर्घटनामा परेर ज्यान गुमाइसकेका छन्। सो अवधिसम्म एक हजार चार सय २९ सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी दुई हजार गम्भीर घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो पाँच वर्षमा देशमै सबैभन्दा बढी सडक दुर्घटना सुदूरपश्चिमका पहाडी जिल्लामा भएका छन्।

कमेन्ट लोड गर्नुस