ड्रग्स विरुद्धको नयाँ आइडिया, धनगढीमा प्रहरीले विद्यार्थी खोज्दै

धनगढीः ड्रग्स अर्थात लागुऔषध विरुद्धको महाअभियान सुदूरपश्चिममा जारी छ। विशेष गरी कैलाली र कञ्चनपुरमा यो अभियानलाई तीव्र पार्ने प्रयास भइरहेको छ। लागुऔषध (ड्रग्स)को कुलतमा सबैभन्दा बढी किशोर/किशोरी र युवायुवती फस्दै गएपछि विद्यार्थी केन्द्रित कार्यक्रम प्रहरीले अघि बढाएको छ।
लागुऔषध प्रयोगकर्ता धनगढीमा अझ धेरै भएकाले यसले जीवनमा पार्ने असरको विषयमा प्रहरीले सूचित गराउने काम गर्दै आएको छ। धनगढीका संस्थागत एवं सामुदायिक विद्यालयमै प्रहरी पुगेर लागुऔषध विरुद्धको महाअभियानमा अध्ययनरत विद्यार्थीहरुलाई जोड्ने काम गर्दै आएको छ। प्रहरीले विद्यालय र विद्यार्थी खोज्दै लागुऔषधको सेवनबाट हुने क्षति, कानुनी प्रावधान, परिवार र समाजमा पर्ने असर लगायत विषयमा जानकारी गराउने काम हुँदै आएको छ।
ड्रग्स विरुद्धको महाअभियानलाई सार्थक बनाउन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले धनगढीका संस्थागत एवं सामुदायिक विद्यालयमा पुगेर कक्षा नै चलाउने काम गर्दै आएका छन्। उपमहानगरभित्र सञ्चालित सबै विद्यालय तथा कलेजमा लागुऔषध विरुद्ध कक्षा लिने योजना अनुसार धेरै विद्यालय एवं कलेजमा प्रहरी पुगिसकेको छ।
लागुऔषध सेवन, कारोबार र ओसारपसारका विषयमा विद्यार्थीहरुले उठाएका जिज्ञासामाथि प्रहरी उपरीक्षक चौधरीले सरल र बुझ्ने गरी जिज्ञासा मेटाउने काम समेत गर्दै आएका छन्। विद्यालय तथा कलेजमा अध्ययनर कतिपय विद्यार्थी नै लागुऔषधको कुलतमा फस्न थालेपछि प्रहरीले विद्यालय केन्द्रित अभियान नै थालेको हो।
किशोर/किशोरी मात्र नभएर युवायुवती समेत लागुऔषधको कुलतमा फस्न थालेपछि विद्यार्थी खोज्दै प्रहरी निजी एवं सरकारी विद्यालयमै पुगेर कक्षा लिने काम गर्दै आएको छ। धनगढीका कतिपय विद्यार्थीले प्रहरीले अघि सारेको यस्तो अभियानमा खुलेर समर्थन गर्दै लागुऔषध विरुद्ध अरुलाई पनि सचेत गराउने काम गर्दै आएको समेत पाइएको छ। लागुऔषध सेवन एक प्रकारको रोग हो।
यसको समयमा उपचार हुन सके समाजमा पुरानै अवस्थामा फर्कन सकिने लागुऔषध रोग विशेषज्ञ डाक्टर प्रभात सापकोटा बताउँछन्। ‘लागुऔषध कुनै ठुुलो समस्या नभएर यो एक प्रकारको रोग हो, लागुऔषध प्रयोगकर्ता भनेका रोगी हुन, उनीहरुले समयमा उपचार पाए भने यस्तो रोग पूर्ण रुपमा निको हुन्छ।’ लागुऔषध प्रयोगकर्तालाई अपराधिको रुपमा भन्दा एउटा रोगीको रुपमा लिएर उसलाई उपचार गराउन परिवार, समाज र प्रहरीले पनि सोहिअनुसारको व्यवहार गर्नुपर्ने सरोकारवाला बताउँछन्।

