सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ८३ किशोरीले प्राण त्यागे, प्रेम जालले मृत्युको बाटो

२०८० भदौ १९, ११:३१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशभित्र पछिल्लो दुई वर्षको अवधिमा ८३ किशोरीहरुले प्राण त्याग गरेको प्रहरीको अभिलेखले देखाएको छ। आर्थिक वर्ष २०७८/७९ र आर्थिक वर्ष २०७९/८० को बैशाख मसान्तसम्म मात्र ८३ किशोरी र ४२ किशोर गरी एक सय २५ किशोर/किशोरीले देहत्याग गरेको पाइएको हो।

१३ वर्षदेखि १९ वर्ष उमेर समुहका किशोर/किशोरीले सो संख्यामा देहत्याग गरेको अभिलेख छ। कलिलै उमेरमा कतिपय किशोर तथा किशोरी माया जालमा पर्ने र सोचेजस्तो नभएपछि प्राण त्याग गर्ने गरेको अनुभव प्रहरी अधिकृतहरुको छ। किशोर÷किशोरीसँगै प्रदेशभित्र महिलाहरु पनि प्राण त्याग गर्ने क्रम बढेको छ।

घरेलु हिंसा, बहुविवाह, जबरजस्ती करणी लगायत कारण आर्थिक वर्ष २०७८/७९ मा दुई सय २५ महिलाले देहत्याग गरेका छन्। यसरी देहत्याग गर्नेमा पुरुषको संख्या अझ बढी देखिएको छ। आर्थिक विपन्नता, बेरोजगारी, मानसिक समस्या लगायत कारण सो अवधिसम्म दुई सय ९५ पुरुषले प्राण त्याग गरेको प्रहरी अभिलेख छ। सो अवधिभित्र मात्र ३९ किशोरी, २४ किशोर, दुई सय ९५ पुरुष र दुई सय २५ महिला गरी पाँच सय ८३ जनाले देहत्याग गरिसकेका छन्।

आर्थिक वर्ष २०७९/८० मा देहत्याग गर्नेको समग्र संख्यामा थोरै कमि देखिएको छ।  प्रदेशभित्र सो अवधिसम्म ४४६ जनाले देहत्याग गरेका छन्। दुई सय २९ पुरुष, एक सय ५५ महिला, ४४ किशोरी र १८ किशोरले देहत्याग गरेको प्रहरी तथ्यांकले देखाएको छ। 
शैक्षिकस्तर बढ्दो क्रममा देखिए पनि देहत्याग जस्तो अपराध समाजमा बढ्दै जानु चिन्ताको विषय हो। सबैभन्दा बढी विष र झुण्डिएर देहत्याग गर्नेको संख्या बढेको छ।

देहत्याग मानसिक रोगको उपज पनि हो। सबैभन्दा बढी देहत्याग गर्नेमा १५ देखि ३१ वर्ष उमेर समुहका छन्। युवामा बढ्दो मानसिक तनाव र डिप्रेसन मुख्य कारण भएको प्रहरी अधिकृतहरुले बताएका छन्। अधिकांश युवायुवती शारीरिक र यौन हिंसाबाट पीडित हुने भएकाले आफ्नो समस्याबारे परिवारसँग खुलेर कुरा गर्न नसक्दा मानसिक तनावमा रहने समेत खुलेको छ। तनाव बढ्दै गई डिप्रेसन हुने र त्यसपछि देहत्यागको बाटो रोज्ने गरेका घटना सार्वजनिक भइरहेका छन्। साथै देहत्याग गर्नुको पछाडि आर्थिक, सामाजिक र पारिवारिक कारण पनि रहेको अधिकारीहरुले बताएका छन्।

कमेन्ट लोड गर्नुस