सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ ७ गते गौरा नमनाएका ठाउँमा आजदेखि गौरापर्व शुरु

२०८० भदौ १८, ०९:१८ खबर संवाददाता

भदौ ७ गते गौरा नमनाएका ठाउँमा सुदूरपश्चिमेलिहरुको मुख्य पर्व गौरा सुरु भएको छ। पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि भगवान शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वास गरिन्छ।

त्यस बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झाना स्वरुप यो पर्व मनाउने परम्परा चल्दै आएको छ। यो बर्ष ज्योतिषहरुबीच विवादका कारण दुई गौरा भएका छन । केही ठाउँमा भदौ ७ गते गौरा मनाइसकिएको छ भने केही ठाउँमा आजदेखि गौरापर्व शुरु भएको छ। गौरापर्व भाद्र शुक्ल अथवा कृष्ण पक्षमा पर्ने भन्दै आजदेखि गौरा शुरु भएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए।

गौरा पर्वको पहिलो दिन बिरुडा पञ्चमीमा घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका छन्। गौरा पर्वको पहिलो दिन महिलाहरुले तामा वा पित्तलका भाँडामा पाँच प्रकारका अन्न बिरुडा भिजाएका छन्। ब्रतालु महिलाहरुले शिव पार्वतीको गाथामा आधारित फागहरु गाएर सामुहिक रुपमा बिरुडा भिजाउने चलन रही आएको सुर्नया ६ का हरिना अवस्थीले बताइन्।

गौरापर्व सुदूरपश्चिमको मौलिक चाड रहेको समेत उनले बताइन् ।यो पर्वमा खास गरेर विवाहित महिलाहरुले ब्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन्। बिरुडापञ्चमीकै दिनदेखि ब्रतालु महिलाहरुले गौराको पूजाआजा गर्ने गरेका छन्। यहाँका महिलाले गहुँ, केराउ, गहत, मास र गुराउँस मिसाएर तामा वा पित्तलका भाडामा बिरुडा भिजाएका छन्।

पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ। सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ। गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ।

शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने चलन रही आएको छ। गौराको समयमा विभिन्न खालका ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी, चैत लगायतका खेलहरु पनि खेल्ने चलन रही आएको छ। 

कमेन्ट लोड गर्नुस