डडेल्धुरामा रास्वपाका डा. ताराप्रसाद जोशी विजयी
डडेल्धुरा: डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई सात हजार १० मतान्तरले पराजित गर्दै संसद् यात्रा तय गरेका हुन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार जोशीले १९ हजार १३१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी महरले १२ हजार १२१ मत पाए। यसैगरी नेपाल कम्युनिष्ट पार्टीका मानसिंह मालले छ हजार ८३४ र नेकपा (एमाले) का उम्मेदवार चक्र स्नेहीले तीन हजार २६ मत प्राप्त गरेका छन्।
यस्तो छ जोशीको राजनीतिक यात्रा
जोशीले डडेल्धुरामा कांग्रेसको ३४ वर्षे राजनीतिक विरासत अन्त्य गर्दै पहिलोपटक सांसद बन्न सफल भएका हुन्। विसं २०२७ चैत ३० गते जन्मिएका उनी गन्यापधुरा गाउँपालिका–२ का स्थायी बासिन्दा हुन्।
विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहेका जोशीको राजनीतिक यात्रा विसं २०४५ मा अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यका रूपमा सुरु भएको थियो। विसं २०४८ मा शिक्षण पेसामा रहँदा उनी शिक्षक सङ्गठनसँग आबद्ध भएका थिए।
विसं २०५१ मा नेकपा (एमाले) डडेल्धुरा–काठमाडौँ सम्पर्क मञ्चको सदस्य बनेपछि उनी पार्टी राजनीतिमा सक्रिय भए। त्यसपछि विसं २०५३ मा एमाले डडेल्धुरा जिल्ला कमिटी सदस्य र विसं २०५४ मा जिल्ला कमिटी सचिव बने।
विसं २०५५ तिर राजनीतिक जिम्मेवारीसँगै उनले पत्रकारितामा पनि सक्रियता देखाए। कञ्चनपुरबाट प्रकाशित ‘शिखा’ साप्ताहिकका प्रमुख सम्पादकका रूपमा समेत उनले काम गरेका थिए।
विसं २०६९ मा एमाले डडेल्धुराको जिल्ला अध्यक्ष बनेका जोशी लोकतान्त्रिक आन्दोलनहरूमा पनि सक्रिय रहे। विशेषगरी २०६२÷०६३ को जनआन्दोलनमा उनको महत्वपूर्ण सहभागिता रहेको बताइन्छ।
राजनीतिक जीवनमा उनले उतार–चढाव पनि भोगेका छन्। विसं २०७० को संविधानसभा सदस्य निर्वाचनमा उनी नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवासँग पराजित भएका थिए भने २०७४ को प्रदेशसभा निर्वाचनमा कर्णबहादुर मल्लसँग हार बेहोरे।
विसं २०७९ मा भने जोशी स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। विसं २०७८ तिर एमाले परित्याग गरेपछि उनी स्वतन्त्र रूपमा राजनीतिमा सक्रिय थिए।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनपछि सरकार परिवर्तनको माग चर्किएपछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिँदै प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका हुन्।
राजनीतिशास्त्र र अर्थशास्त्रमा नेपालबाट स्नातक गरेका जोशीले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तरराष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पीएचडी) हासिल गरेका छन्। अन्तरराष्ट्रिय सम्बन्ध, विकास नीति, उद्यम विकास, सार्वजनिक वित्त, सार्वजनिक प्रशासन तथा मानवअधिकारका क्षेत्रमा उनको अनुभव रहेको छ।