सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीलङ्का विस्फोट : मृत्यु हुनेको संख्या ३५९ पुग्यो

। फोटो स्रोत ।
२०७६ वैशाख ११, ०२:४९ खबर संवाददाता

श्रीलङ्काको राजधानी कोलम्बोका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघरमा गत आइतबार भएको शृङ्खलाबद्ध बम विस्फोटमा मृत्यु हुनेको संख्या बुधबार मध्यान्हसम्म ३ सय ५९ जना पुगेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा भारत, अमेरिका, बेलायत र जापान समेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ। विस्फोटबाट झण्डै ५ सय व्यक्ति घाइते भएका छन्।

उपचार गराइरहेका घाइतेमध्ये अझै केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालहरुले जनाएका छन्। राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा बिस्फोट गराइएका थिए। यस्तै राजधानीका पाँचतारे होटलहरु साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि विस्फोट भएका थिए। मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा समेत शक्तिशाली विस्फोट भएको थियो। 

विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ। तर सरकारले श्रीलङ्कामै सामान्य सक्रिय समूह नेसनल थोहित जमाथको संलग्नताको आशङ्का गरेको छ। यो समूहलाई अन्तर्रा्ष्ट्रिय आतङ्कवादी समूहले मद्दत गरेको हुनसक्ने श्रीलङ्का सरकारको अनुमान छ।
प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि मङ्गलबार राति सञ्चारकर्मीसँग कुरा गर्दै देशको सुरक्षा संयन्त्रले घटनामा विदेशी संलग्नताको आशङ्का गरेको र केही तथ्य प्रमाणले त्यही देखाएको बताए।

गए राति पनि श्रीलङ्काली प्रहरीले खोज अभियान सञ्चालन गरेको र त्यसक्रममा १८ जनलाई नियन्त्रणमा लिएको जनाएको छ। हालसम्म झण्डै ६० जनालाई पक्राउ गरिसकिएको छ। बौद्धमार्गीको बहुलता रहेको श्रीलङ्कामा झण्डै ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन्। गिर्जाघरहरुमा विस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भइरहेका थिए।

कमेन्ट लोड गर्नुस