सुदूर नेपाललाई विश्वसँग जोड्दै

वरिष्ठ समाजसेवी बस्नेतसहित पाँच स्रष्टा सम्मानित

२०८० भदौ १६, ०८:१७ खबर संवाददाता

धनगढीः  कञ्चनपुरको महेन्द्रनगरमा शनिबार आयोजित गौरा पर्व विशेष देउडा प्रस्तुति तथा स्रष्टा सम्मान कार्यक्रममा महेन्द्रनगरका वरिष्ठ  समाजसेवी लिलाध्वज बस्नेतसहितका पाँच जना स्रष्टालाई सम्मान गरिएको छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कञ्चनपुर शाखाद्वारा आयोजित सो कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले समाज, साहित्य र कला संस्कृतिको क्षेत्रमा विशेष योगदान पुर्‍याएका पाँचै जना श्रष्टालाई सम्मान गरेका हुन्। सुदूरपश्चिम क्षेत्रको पत्रकारिता क्षेत्रको विकासका लागि पुर्‍याएको योगदानका साथै यहाँको प्रकृति, पर्यटन, जैविक विविधता, भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, स्वास्थ्य, खेलकुद तथा सामाजिक विकासका क्षेत्रमा सञ्चार क्षेत्रबाट योगदान पुर्‍याएको भन्दै राष्ट्रिय समाचार समिति कञ्चनपुरका प्रमुख शेरबहादुर सिंह सिंहलाई पनि सम्मान गरिएको आयोजकले जनाएको छ।

त्यस्तै, वरिष्ठ  गीतकार राजेन्द्र शाह ‘विपी’, गायिका एवं समाजसेजी  सरस्वती र वरिष्ठ गायक प्रेमराज खत्रीलाई सम्माान गरिएको छ। उनीहरुलाई सुदूरपश्चिममा बसेर लामो समयदेखि यस क्षेत्रको भाषा, संस्कृति, कला र गीतसंगीतको विकासका लागि पुर्‍याएको योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मान गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कञ्चनपुर शाखाका अध्यक्ष लालबहादुर धामीले बताए। सम्मान कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले सुदूरपश्चिममा देउडाको आफ्नै विशिष्ठ पहिचान रहेको बताउँदै देउडाको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्‍याउदै आएका सबै संघ/संस्था र व्यक्तिलाई धन्यवाद दिए। “विभिन्न प्रचार प्रसारका लागि पनि देउडा एउटा उपयोगी माध्यम हो।” प्रदेश प्रमुख जोशीले भने, 'संगीत, साहित्यक र कला क्षेत्र सबैका निम्ति चाँसो भएको क्षेत्र हो।'

कार्यक्रममा प्रदेश प्रमुख जोशीसंगै सुदूरपश्चिम प्रदेशसभाका सदस्य एवं पूर्वमन्त्री प्रकाश रावल र प्रदेशसभा सदस्य मधु भारती, भीमदत्त नगरपालिकाका पूर्वमेयर यज्ञराज जोशी र वेदकोट नगरपालिकाका पूर्वमेयर अशोककुमार चन्द लगायतले मन्तव्य राखेका थिए। सो समारोहमा प्रदेश प्रमुख र प्रदेशसभा सदस्य लगायतका व्यक्तिहरुले देउडा खेलेका थिए।
 

कमेन्ट लोड गर्नुस