सुदूर नेपाललाई विश्वसँग जोड्दै

धर्मनिरपेक्ष बारे जान्नै पर्ने कुरा

२०८० भदौ १६, १०:०२

रीना भट्टः नेपाल विश्वको एक मात्र त्यस्तो मुलुक हो जहा धर्मको नाममा युद्धको इतिहास छैन। गणतन्त्रको स्थापना पश्चात हिन्दु राष्ट्रबाट धर्मनिरपेक्ष राज्य नेपाल बनेको छ। यो बिषयमा आज नेपालमा बहसको श्रृजना भएको छ। धर्म निरपेक्षको बारेमा नेपाली जनता र राजनीतिक नेतृत्वमा केही अलग किसिमको सोचाइ पाइएको छ। जसले गर्दा एउटा सार्थक  जानकारी दिन आवश्यक भइसकेको छ।

सर्वप्रथम धर्म निरपेक्षता के हो सो बिषयमा जानकारी हामीलाई हुनैपर्छ। धर्म र निरपेक्ष दुइवटा शब्द मिलेर धर्म निरपेक्षता बनेको हो। सबैभन्दा पहिला धर्मबारे बुझौ। धर्मको विभिन्न मतलबहरू रहेको छ। महात्मा गान्धीको भनाइअनुसार चोरी नगर्नुलाई अस्तेय भनिन्छ मन बचन कर्मले चोरी नगर्नु, सुचिता–सफाइ अर्थात् मन कर्म र बचनले शुद्ध हुनु तथा शारीरिक सुद्धीसहित शुद्ध हुनु, इन्द्रीय नियन्त्रण, घी–बुद्धी, विद्या र बचनमा शुद्ध हुनु नै धर्म हो।

यदि यी सबै कुराबाट विरक्त हुनु, उदास हुनू वा अलग हुनु नै धर्म निरपेक्षता हो। अंग्रजी शब्दको रिलिजन र भारोपेली शब्दको धर्मको अर्थ फरक रहेको छ भन्ने बुझ्न जरुरी रहेको छ। धर्म अन्तर्राष्ट्रिय शब्द होइन यो केबल भारतीय शब्द हो। रिलिजन शब्द विश्वको शब्द हो। तसर्थ धर्म र  रिलिजन शब्दमा फरक रहेको कुरा राजनीति शास्त्रले जनाउँछ। त्यस्तो हो भने हाम्रो संविधानमा उल्लेखित, नेपाल र नेपालीको माझ सर्वोत्तम चर्चित विषय धर्मनिरपेक्षता के हो? यो जानकारी हुनु आवश्यक रहेको छ।राज्य मानवले बनाएको संस्था हो तसर्थ मानव निर्मित राज्यले प्राचीन कालदेखि नै  विश्वमा रिलीजंस बनायो जुन रिलिजन हिन्दु, क्रिस्चियन, मुस्लिम, शिख आदि हुन गयो। प्रारम्भिक अवस्थामा विश्वमा रिलीजनले राज्य ब्यवस्था संचालन गरिरहेको थियो। राज्यको उत्पति नै ईश्वरले गरेको हो तसर्थ राज्य संचालन गर्ने राजा अथवा शासक भनेको भगवानको प्रतिनिधि हो तसर्थ उसलाई सदैव भगवान मान्नुपर्छ भन्ने सिद्धान्त थियो।

जब दोस्रो विश्व युद्ध पश्चात संसारको राजनीति ब्यवस्थामा लोककल्याणकारी राज्यको सिद्धान्तको प्रारम्भ भयो अनिमात्र लोकतान्त्रिक व्यवस्था अनुसार लोककल्याणकारी राज्यको स्थापनाको लागि महत्वपूर्ण तत्वको रूपमा सिक्यूलरिज्म अर्थात् कुनै एक रिलीजनलाई राज्यले महत्व नदिने सबै रिलीजनलाई समान व्यवहार गर्ने वा सबैप्रति समान भाव र समान दुरी कायम गर्नु नै सिक्यूलरिज्म हो भन्ने व्यवस्था विश्वको विभिन्न राष्ट्हरूले गरे।

यो सिद्धान्त सन १९५१ तिर विश्वमा कायम भएको थियो। तर पनि अझै संसारका कतिपय राष्ट्रले सिक्यूलरिज्मलाई प्रयोग गरेका छैनन्। पाकिस्तान, इरान, अरबका कैयन राष्ट्रहरू आज पनि मुस्लिम राष्ट्रहरू छन्। तर यदि कुनै राष्ट्रले आफूलाई रिलिजनको आधारमा  राष्ट्रलाई हिन्दु मुस्लिम शिख इसाई धोषणा गरिन्छ भने त्यो राज्यले सिक्यूलरिज्मलाई मानेका छैनन् भन्ने कुरा बुझ्नु पर्छ।

धर्मको नाममा शासकहरूले जनतालाई तर्साउने र शासन गर्ने भएकोले लोकतान्त्रिक व्यवस्था वा प्रजातन्त्रको स्थापना पश्चात विश्वले आ–आफ्नो राष्ट्रलाई धर्मको वा रिलीजनको हस्तक्षेपबाट मुक्त गर्न र कुनै रिलीजन राज्यको हुँदैन भन्दै आफूलाई धर्मबाट अलग गरे। एक धर्मलाई मात्र महत्व नदिई सबै धर्मप्रति समान भाव र दृष्टिकोण राख्नु नै धर्म निरपेक्षता हो भनेर विश्वमा यो विचारधारालाई परिभाषित गरिएको छ।

जब भारत नेपाल जस्ता राष्ट्हरूमा गणतन्त्र पश्चात संविधान जारी भयो यस्तो अवस्थामा रिलीजनलाई धर्मसँग जोडी ब्याख्या गरियो। जसले हिन्दु धर्म मुस्लिम धर्म इसाई धर्म र शिख धर्म भनि नामकरण गरियो। यहाँ हामीले बुझ्नुपर्ने सबैभन्दा मुख्य कुरा भनेको धर्म के हो नै रहेको छ। यो लेखको प्रारम्भ मै धर्मको ब्याख्या गरिसकेको छ। धर्म एक मानव जीवनलाई अनुशासित बनाउने एउटा पद्धति हो जसमा धैर्य, अनुशासन, आत्मसुद्दी, आचरण ब्यबहार आदि पर्दछ।

यदि यी सबै धर्म वा पद्धतिलाई निरपेक्ष कायम गरेर राज्य संचालन हुन सक्छ र? मानब जीवन चल्न सक्छ र? तसर्थ पश्चिमबाट सुरु भएको सिक्यूलरिज्मलाई नेपाल र भारतले रिलीजन निरपेक्षता भन्ने नबुझेर धर्म निरपेक्षता भन्ने बुझे। जब भारतको संविधानको ४२ औँ संशोधन भयो तब ईङलिसमा लेखेको संविधानलाई हिन्दीमा उल्था गर्ने क्रममा बल्ल भारतीय संविधानविद्हरूले सिक्यूलरिज्मको अर्थ खोज्ने प्रयासमा धर्म निरपेक्ष भन्ने कतै भेटिएन।

उनीहरूले सिक्यूलरिज्मको भारतीय शब्द पन्थनिरपेक्ष भन्ने भेटे जसको कारण आज भारतको संविधानको प्रस्तावना न मुद्दामा भारत एक पन्थ निरपेक्ष राज्य भनेर उल्लेख गरेको छ। तर धर्म निरपेक्ष राज्य लेखिएको छैन तसर्थ यस अर्थमा नेपाल पनि धर्म निरपेक्ष राज्य नभएर पन्थ निरपेक्ष राज्य वा सेक्युलर राज्य हो। यदि भारत र नेपाललाई धर्मनिरपेक्ष भनेर राखिन्छ भने त्यस्तो अवस्थामा यी देशका मानव जातिले आफ्नो शाश्वत जीवन पद्धतिभित्र रहेको क्षमा, धैर्य, आत्मशुद्धि जस्तो प्रवृत्तिबाट अलग हुने हो भने मानव जीवन दानब जीवनमा परिणत हुन्छ। यदि धर्मलाई हाम्रो जीवनबाट बाहिर निकाल्ने हो भने हाम्रो जीवन पशु तुल्य हुन्थ्यो।

धर्मलाई पुजा पद्धति मान्न सकिदैन। धर्म भनेको मानवको जीवन पद्धति हो। कुनै एउटालाई पुजा गर्ने भगवान मान्ने पद्धतिलाई धर्म भन्न मिल्दैन। यो मानब धर्म हो जसको माध्यमबाट हामी साच्चिकै भगवानसमक्ष पुग्न सक्छौ। यसबाट हामी निरपेक्ष हुन सक्दैनौ। यो धर्म शब्दहिन्दुमा मात्र लागु हुँदैन यो सम्पूर्ण मानव जातिमा लागु हुन्छ। धर्म कस्तो हुनुपर्छ भन्ने कुराको ब्याख्या हिन्दुसभ्यताका ऋषिमुनिहरूले संसारलाई  बताउनुभयो जसलाई गौतमबुद्ले अझ बढी प्रस्ट पारेका छन्।

पछि बिबेकानन्द महात्मा गान्धीले अझै फैलाउने काम गरे। तसर्थ हिन्दुस्तानबाट प्रारम्भ भएको जीवन जीउने कला वा पद्धतिलाई नै हिन्दु धर्म भनियो। तसर्थ विश्वको जीवन पद्धति वा मानव जीवनको कला नै हिन्दू धर्म हो। यो हिन्दू धर्मलाई रिलीजन भन्न मिल्दैन किनभने यो रिलीजनको श्रेणीमा पर्दैन। रिलीजन भनेको केबल इसाई, मुस्लिम, सिख, बुद्ध धर्म आदि मात्र हो। भागवत गीतामा श्री कृष्णले भनेका छन् ‘जति पनि मार्ग मैले मानवद्वारा बनाउन लगाएको छु त्यो अन्तमा म तिरै आउँछ।’

हिन्दु धर्ममा उल्लिखित मानवको जीवन पद्धति केबल भारत र नेपालमा मात्र लागु हुँदैन। यो चीन, जापान, पाकिस्तान, बङ्गलादेश, अमेरिका तथा युरोपेली मुलुकहरूमा पनि लागु हुन्छ। यिनै शाश्वत मुल्य र मान्यताको आधारमा सबै बाचीरहेका छन्। यसलाई नै मानव धर्म भनिन्छ। जसलाई हिन्दु सभ्यताले प्रतिपादित गरेकोले यो हिन्दू मात्र धर्म हो अरू सबै रिलीजन हरू हुन्। तसर्थ रिलीजनलाई राज्यले मान्नु हुन्न भन्ने जुन सिद्धान्त विश्वमा ब्याप्त छ त्यो नै सिक्यूलरिज्म वा पन्थ निरपेक्षता हो।

नेपालले धर्म निरपेक्षता होइन पन्थ निरपेक्षतालाई आफ्नो संविधानको प्रस्तावनामा उल्लेख गरेको छ। हिन्दु धर्म हो यो पन्थ होइन। मुस्लिम इसाई र शिख रिलीजन हो। जसलाई पन्थ भन्न सकिन्छ अर्थात् बाटो जसको माध्यमबाट भगवान कहाँ पुग्न सकिन्छ भने त्यो नै पन्थ हो। रिलीजनको माध्यमबाट भगवान समक्ष पुग्ने बाटो नै पन्थ हो।

यदि हामीले जब हाम्रो जीवन पद्धति भुलेर आफूलाई मन नपर्ने फरक धारका रिलीजनमाथि प्रहार गर्छौ र विरोध गर्छौ भने त्यो अवस्थामा हामी धर्म निरपेक्ष हुन सक्छौ। अर्को समुहको विरोध गर्दै कुनै एक व्यक्तिको शासन व्यवस्थालाई धर्मको आडमा खडा गर्ने प्रयास हुन्छ भने त्यो भनेको मानव जीवन पद्धतिलाई लत्याई दानब जीवन रोज्नु नै धर्म निरपेक्षता हो।

(लेखक भट्ट लेक्चरर एवं राजनीति शास्त्र बिभाग पाटन क्याम्पसमा कार्यरत छिन)

कमेन्ट लोड गर्नुस