अत्तरियामा अर्को वन पनि कब्जा, दुई करोड बढी खर्चेर भवन निर्माण हुँदै
धनगढीः कैलालीको गोदावरी नगरपालिकाले अर्को वन पनि कब्जामा लिएको छ। गोदावरी नगरपालिका वडा नम्बर १ को चाहना सामुदायिक वनको जग्गा कब्जामा लिएर एकीकृत कृषि तथा पशु सेवा केन्द्रको भवन निर्माण गर्न लागेको हो। सामुदायिक वनको जमिन कब्जामा लिएर आज मात्र गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्ट आफैले भवन निर्माणको शिलान्यास गरेका हुन्।
जुन वन ऐन विपरीत हो। वन जग्गालाई कब्जा गरेर यसरी कुनै पनि भवन निर्माण गर्न नपाइने डिभिजन वन कार्यालय धनगढीका निमिक्त डिभिजन प्रमुख पूर्णशंकर यादवले बताएका छन्। विश्व बैंकको लागत सहयोगमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्र्तगत रहेको ग्रामीण तथा आर्थिक विकास आयोजनाले कार्यान्वयन गर्ने गरी आर्थिक करिडर कार्यालय डडेल्धुराले ठेक्का प्रकृया मार्फत सो भवनको निर्माण सम्झौता गरेको छ।
२०८१ असार मसान्तसम्म निर्माण कार्य सक्ने गरी काठमाण्डौको सिनरजित विल्डर्स प्रालिसँग सम्झौता भएको हो। २ करोड ६ लाख ८५ हजारमा गोदावरीमा केन्द्र भवन निर्माण भइरहेको हो। जुन २ तले तथा १४ कोठे बन्ने छ। सामुदायिक वन क्षेत्रको जमिनलाई कब्जामा लिएर भवन निर्माण गर्न नपाइने भन्दै डिभिजन वन कार्यालय धनगढीले निर्माण कार्य तत्काल बन्द गर्न सूचना दिइसकेको डिभिजन प्रमुख यादवले बताएका छन्।
विहान शिलान्यास भएको कार्यालय भवनको अहिले दुई फिट अग्लो साइट निर्माण भइरहेको छ। ‘तत्काल भवन निर्माणको काम रोक्न सूचना दिइसकिएको छ। हामीले सो क्षेत्रलाई तत्काल खाली गराएर वन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउनेछौँ।’ ‘हामीले गोदावरी नगरपालिकालाई पटकपटक वन क्षेत्रमा यस्ता अवैध क्रियाकलाप नगर्न आग्रह गर्दै आए पनि यस्ता गतिविधि भइनै रहेका छन्। तर हामी त्यो क्षेत्रलाई खाली गरेरै छोड्छौँ।