सुदूर नेपाललाई विश्वसँग जोड्दै

सगरमाथा चढ्न अनुमति लिनेको संख्या इतिहासकै बढी

। फोटो स्रोत ।
२०७६ वैशाख १०, ०७:०९

सगरमाथा चढ्नको लागि नेपाल सरकारबाट अनुमति लिने आरोहीको संख्या अहिलेसम्मकै बढी भएको छ। यो वर्षको वसन्त ऋतुमा सगरमाथा चढ्नको लागि आजसम्म ३७५ जनाले अनुमति लिएका पर्यटन विभागका विभागका सूचना अधिकारी सुरेन्द्र थापाले जानकारी दिए। दुई वर्षअघि सन् २०१७ मा सगरमाथा चढ्नको लागि ३७२ जनाले अनुमति लिएका थिए। अनुमति लिनेहरु ३८ वटा समूहमा आबद्ध छन्।

सगरमाथा चढ्न अनुमति लिनेहरुमा पाँचवटा टोलीमा आबद्ध १३ जना नेपाली रहेका छन्। पर्यटन विभागबाट अनुमति लिने क्रम रहेकोले आरोहीको संख्या बढ्न सक्ने पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए। यो वसन्त ऋतुमा नेपालका झन्डै ३० हिमाल चढ्न आजसम्ममा ९५ समूहका ८०३ आरोहीले अनुमति लिएका छन्।

सगरमाथा आधारशिविरमा अहिले आरोही, आरोहण सहयोगी, व्यवस्थापनका कर्मचारी तथा भरियाहरुले भरिभराउ भएको छ। मानव बस्तीबाट टाढा रहेको आधारशिविरमा आरोही र सहयोगी बस्ने शिविरहरू कहाँ कहाँ रहने भनेर छुट्ट्याउने काम सकिएको विभागका महानिर्देशक घिमिरले बताए।

आरोहीहरुलाई समन्वय एवम् सहयोग गर्नको लागि विभागले सम्पर्क अधिकृत खटाउने गरेको छ। तर गएका वर्षहरुमा सम्पर्क अधिकृत आधारशिविरमा नबसेको गुनासो बढेकाले यस वर्ष कडाइ गरिएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए। साभार - उज्यालो
 

कमेन्ट लोड गर्नुस