धनगढीमा लम्पी स्किन रोग नियन्त्रणको माग गर्दै कृषि मन्त्रालयमा धर्ना

धनगढीः सुदूरपश्चिममा लम्पी स्किन रोगको सङ्क्रमण भयावह बन्दै गएपछि पशुपालन गर्ने किसानहरू आन्दोलित भएका छन्।
रोग नियन्त्रण तथा क्षति व्यवस्थापनमा सरकार निरीह बनेको भन्दै अखिल नेपाल किसान महासङ्घ सुदूरपश्चिम प्रदेश कमिटीले आइतबार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय धनगढीमा धर्ना सँगै ज्ञापन पत्र बुझाएको छ। लम्पी स्किन रोगलाई महामारी घोषणा गरी प्रभावकारी उपचार तथा व्यवस्थापन थालिनुपर्ने, मरेका पशुहरूको बिमा रकम यथाशीघ्र भुक्तानी गरिनु पर्ने लगायतका १० बुँदे माग राख्दै भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री रामेश्वर चौधरीलाई ज्ञापन पत्र बुझाइएको सङ्घका सुदूरपश्चिम अध्यक्ष मदन रेग्मीले बताए।
पशुहरुमा महामारीको रुपमा फैलिएको लम्पी स्किनलाई तत्काल महामारीको घोषणा गर्नु पर्ने, पशुबस्तुमा क्षति पुगेका किसानलाई राहत, क्षतिपूर्तिका लागि प्रयाप्त बजेट सहितको राहत कार्यक्रम घोषणा गर्नु पर्ने, रोग नियन्त्रणका लागि प्रयाप्त भ्याक्सिन तथा प्राविधिकको व्यवस्था गरिनुपर्ने, पशुमा क्षति पुगेका किसानलाई अविलम्ब बीमा रकमको भुक्तानीको व्यवस्था गरिनु पर्ने माग राखेका छन्।
‘लम्पी स्किन रोगबाट लाखौँ पशु चौपाया मरेका लाखौँ अझै सङ्क्रमित छन। किसानहरूको अर्वौको धनमाल नष्ट भएको छ। सङ्घीय र प्रदेश सरकार यो समस्या सँग चिन्तित छैनन्। ज्ञापन पत्र बुझे पश्चात् किसानहरूलाई सम्बोधन गर्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले लम्पी स्किन रोग नियन्त्रणमा प्रदेश सरकार प्रभावकारी ढङ्गले लागेको बताए। ‘सुदूरपश्चिम प्रदेशमा यो रोगबाट मृत्यु भएका र सङ्क्रमित पशुहरूको तथ्याङ्क सङ्कलन गरी यसको नियन्त्रणका लागी बजेट व्यवस्थापनको काम भइरहेको छ मन्त्रि चौधरीले बताए।

