कञ्चनपुरमा पूर्वाधारका ३०८ योजना अधुरै, ४१ योजनामा झण्डै एक अर्ब खर्च
धनगढीः कञ्चनपुर जिल्लाभित्र तीन सय ८ पूर्वाधार विकासका योजना अलपत्र अवस्थामा छन्। गत आर्थिक वर्षभित्र निर्माण भइसक्नुपर्ने ती योजना चालु आर्थिक वर्ष सुरु भएको डेढ महिना पुग्नै लाग्दा समेत निर्माणले गति लिन सकेको छैन्। पूर्वाधार विकास कार्यालय कञ्चनपुरका लागि आर्थिक वर्ष २०७९/८० मा सडक तथा पुल निर्माणका लागि एक अर्ब २७ करोड बजेट विनियोजन गरिएको थियो।
तर ४१ योजनामा भने झण्डै एक अर्ब खर्च भएको देखिएको छ। ती योजनाको काम पुरा गर्न ९९ करोड ६८ लाख लगानी भएको सूचना अधिकारी देव बडालले बताए। स्थानीयस्तरका सडक तथा पुलको संघीय ससर्त अनुदानमा ५० करोड बजेट विनियोजन गरिएकोमा चार करोड ९८ लाख रुपैयाँ खर्च भएको छ।
सम्भावित रणनीति सडकको दुई करोड ८० लाखमध्ये दुई करोड ५३ लाख खर्च भएको छ। तराई मधेस सडक पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत पाँच करोड तीन लाख बजेट विनियोजन भएकोमा खर्च ३६ लाख ८५ हजार मात्र भएको देखिएको छ। सम्भावित प्रादेशिक सडक अन्तर्गत ६ करोड ८५ हजार बजेट विनियोजन गरिएकोमा दुई करोड ४७ लाख, सडक तथा पुल निर्माणका लागि आएको एक अर्ब ४७ करोडमा एक अर्ब एक करोड खर्च भएको छ।
त्यस्तै सडक तथा पुल निर्माणका लागि आएको ३६ करोड ७२ लाख ३४ हजार २६ फ्रिज भएको छ। स्थानीयस्तरका सडक तथा पुलको संघीय ससर्त अनुदानका लागि आएको बजेटबाट एक लाख ९० हजार फ्रिज भएको छ भने सम्भावित रणनीति सडकको बजेटबाट २६ लाख ३७ हजार फ्रिज भएको छ।
त्यस्तै तराई मधेस सडक पूर्वाधार विशेष कार्यक्रमको चार करोड ६६ लाख, सम्भावित प्रादेशिक सडकको चार करोड ३७ लाख तथा सडक तथा पुल निर्माणका लागि आएको ४६ करोड पाँच लाख रुपैयाँ खर्च हुन नसकेर फ्रिज भएको पूर्वाधार विकास कार्यालयको तथ्यांकले देखाएको छ।