सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका पाँच व्यवसायीक फर्म कारबाहीमा

२०८० भदौ ६, ०५:३७ खबर संवाददाता

धनगढीः  धनगढीका पाँच व्यवसायीक फर्म कारबाहीमा परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १५ र १६ मा गरिएको अनुगमनका क्रममा अबैध कारोबार गर्ने पाँचवटा व्यापारिक फर्म कारबाहीमा परेका हुन्।

बजार अनुगमन टोलीले मंगलबार गरेको अनुगमनमा वडा नम्बर १६ मा रहेको बेहडा बाबा एग्रो सेन्टर दर्ता गरेर स्टेशनरी सामान, फलफुललगायतका सामग्री राखेको पाइएपछि कारबाही गरिएको उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण शाखा प्रमुख नारायणप्रसाद शर्माले बताए। सो फर्मलाई पहिलोपटकका लागि भनेर एक हजार जरिवाना गरिएको छ। यस्तै सोही वडाभित्रको बेहडा बाबा क्लिनिकलाई दोस्रोपटकको अनुगमनका क्रममा जरिवाना गराइएको छ।

यसअघिको अनुगमनका क्रममा टोलीले औषधि विक्रीवितरणका लागि अनुमति लिन भन्दै सम्झाएको थियो। साथै अनुमति बिना औषधि विक्रीवितरण गरेको भन्दै एक हजार रुपैयाँ जरिवाना गरेको हो। क्लिनिक मात्रै दर्ता गरेर औषधि विक्रीवितरण गर्न नपाइने व्यवस्था अनुसार सो क्लिनिकलाई जरिवाना गराएर छोडिएको र अबदेखि अनुमति नलिएको पाइए कानून अनुसार कारबाही गरिने अनुगमन टोलीले बताएको छ। औषधि विक्री वितरणका लागि औषधि व्यवस्था विभागबाट अनुमतिसहित फार्मेसी पढेको जनशक्ति हुनुपर्ने व्यवस्था छ।

दक्षिण रामपुरस्थित चन्द किराना पसल दर्ता नगरेको, किराना पसलका नाममा रक्सी पनि बेच्ने गरेको र म्याद गुज्रेको सामान पाइएको छ। उक्त पसललाई पनि जरिवाना गरिएको अनुगमन टोलीले जनाएको छ। चन्द किराना पसललाई एक हजार रुपैयाँ जरिवाना गराइएको छ। पूर्व रामपुरस्थित लक्ष्मी किराना पसल र रमेश पशुपति किराना पसल दुबैले अनुमति बिना होटल सञ्चालन गरेर रक्सी बेच्ने गरेको पाइएको छ। उपभोक्ता हित संरक्षण शाखा प्रमुख शर्माले पहिलो पटकका लागि न्युनतम एक हजार रुपैयाँ जरिवाना गराइएको बताए। नियम विपरीत कार्य गर्ने व्यापारिक फर्मलाई पहिलोपटकका लागि एक हजार रुपैयाँ जरिवाना गराएर छोडिएको छ। अनुगमन टोलीले विभिन्न २० वटा व्यवसायीक फर्ममा अनुगमन गरेको थियो।
 

कमेन्ट लोड गर्नुस