ओल्के संक्रान्तिको महत्व
अच्युतप्रसाद उप्रेतीः मानव सम्यताको विकाससँगै सामाजिक, सांस्कृतिक, ब्यवहार, सम्वन्ध, संस्था आदिको निर्माणमा प्रकृतिको प्रभाव परिरहन्छ भन्ने मान्यता रही आएको छ। जहाँ जस्तो प्रकारको प्राकृतिक वातावरण छ, भू–बनोट रहेको छ, प्राकृतिक श्रोत साधनको उपलव्धता छ। त्यहाँ त्यसै अनुसारको समाजको र संस्कृतिको निर्माण हुन्छ भन्ने मान्यता समाजशास्त्रमा विकास भएको पाइन्छ।
कालान्तरमा मानिसहरु जंगली युगमा थिए र जंगलमा बस्दा विभिन्न ठाउँमा छरिएर आफ्नो समूह बनाएर बस्ने र एकजुट भएर समूहमा कामहरु गर्ने गर्दथे। त्यस बेलाका मानिसहरुले आ–आफ्नै किसिमका अनेकौ चाडपर्वहरु मान्ने गरेको र त्यस्ता चाडपर्व र परम्पराहरु मानव सभ्यताको विकाससँगै समाजमा निरन्तर रुपमा चल्दै आएका छन र भविष्यमा पनि चलिरहने छन्।
यस्ता चाड पर्वहरु समाजको विकाससँगै स्वरुप परिवर्तन गर्दै जान सक्दछन्। यस्ता परम्परागत सामाजिक मान्यताहरुसँग अद्रिश्य शक्तिको प्रभाव परिरहन्छ र समाजमा जे–जस्ता परम्पराहरु चली आएका छन् ती ठिक छन् भन्ने मान्यता रहि आएको पाइन्छ।
मानिसले समाजमा चल्दै आएका परम्परा र रिति थितिहरुको बिरुद्द जानु भनेको धर्म संस्कृतिको विरुद्द जानु हो भन्ने मान्यता समाजमा रहेको पाइन्छ।
यस्ता चाड पर्वहरु जात–जाति, धर्म र संस्कृतिका आधारमा भिन्न–भिन्न समाज र ठाउँमा फरक–फरक तरीकाले मनाउदै आएको पाइन्छ। यसै मध्येको सुदूर पश्चिममा वल्के पर्व पनि एक हो। यो पर्व नेपालको सुदूरपश्चिममा मात्र मनाइन्छ। सुदूरपश्चिमका मानिसहरु विश्वका जुनसुकै ठाउँमा भए पनि यो पर्व मानाउँदछन्।
के हो वल्के पर्व?
सुदूरपश्चिम प्रदेशमा मनाइने वल्के पर्व सुदूरपश्चिम प्रदेशको एक परम्परागत रुपमा मनाइदै आएको पर्व हो। यो पर्व भाद्र महिनाको १ गते मनाइने गरिन्छ। यो पर्व बर्खाको बाढि पहिरो र बर्साबाट बाचियो भनेर खानपिन रमाइलो गरी मनाइने गरिन्छ। यो पर्वमा आफ्नो सिप अनुसार निर्माण गरेको सामग्री र आफ्नो बारीमा फलेको सागपातहरु जस्तै कर्कलाको भक्कर पलाउन लागेको पात (गाभा ) गुड र निगलाको रिण ( जस्को काम साना साना टुक्रा बनाएर टपरि बनाउने काम आउछ) को उपहार दिएर मनाइने गरिन्छ।
यो पर्वमा दिइने उपहारहरु आफ्नो बारीमा फलेका फलफूल र सागपातहरु र आफ्नो सिप र कलाबाट निर्माण गरिएका सामग्रीहरु उपहार दिने गरिन्छ। वल्के पर्वमा जति उपहार दिन सक्यो त्यति नै पुण्य प्राप्त हुन्छ भन्ने किम्वदन्ति रहेको पाइन्छ। वल्के संक्रान्तिको दिन परिवारमा बाहिर रहेका छोरी–चेलीहरु र परिवारका सदस्यहरु घरमा आएर सेल, पुरी गतानी डुप्का, लाउन, बट्टकु, जस्ता परिकार पकाएर खुवाउने खाने र बाडने चलन रहदै आएको छ। यो दिनमा विशेष प्रकारको जडिबुडीको लेप बनाएर हात खुट्टामा लागउने चलन समेत रहेको छ।
जसबाट शरीरमा भएका छाला सम्वन्धि रोगब्यधीहरु हराएर जाने विश्वास गरिन्छ। यो पर्व श्रावणको महिनापछि पर्ने हुँदा साउन महिनाभर निरन्तर वर्षा हुने, खोला नालामा बाढी आउने पहिरो आउने र मानिसहरुको भेट हुन नसक्ने भएको हुँदा भदौ १ गते वल्के पर्व मनाउने गरिन्छ। साउन महिनामा मानिसहरुलाई कामको बोझ धेरै हुने हुँदा कसैलाइ फुर्सद हुदैन। र, चारैतिर हरियाली, हिलो माटो हुने हुँदा हिड्डुल गर्नमा पनि कठिनाइ हुने भएको हुँदा मानिसहरुले एउटै समाजमा बसेर पनि भेटघाट गर्न सक्ने अवस्था रहदैन।
साउनको महिनालाइ कालो महिनाको रुपमा समेत हेरिने हुँदा साउनकी रात, जेठकी दोपहर, पुसका बिहानको समयमा हिड्डुल गरेमा मैले रक्षा गर्न सक्दैन भनी भगवानले भनेको किम्वदन्ति समेत रहेको छ। यस कारण पनि साउन महिनाको अन्तमा वर्षा कम हुँदै जाने भएकाले बाढी पहिरो र दैवीय प्रकोपबाट बाँचियो भनेर समाजमा यो वल्के संक्रान्तिलाइ विशेष पर्वको रुपमा रमाइलो गरी मनाइन्छ। वल्के एक ठाउँमा जमघट भएर उपहार साटासाट गरी खानपिन गरी डेउडा खेलेर मनाइने गरिन्छ।
यसका साथसाथै यसै दिनमा गाउँका सबै भेला भएर वल्के संक्रान्तिको दिन बिहानै बुढी (काडा र हागा हरू जम्मा गरेर थुप्रो बनाइ असोज १ गते आगो लगाएर जलाउने पर्वको रुपमा बुढि बाड्ने भनि भनिन्छ) बाडने गरिन्छ। यसलाई स्थानीय भाषामा बुढी बाडेको वा बुढि हालेको भनिन्छ। जसले बिहानै पहिला बुढीमा काडा राख्न सक्यो त्यसको गाईको बाच्छि जन्मन्छ भन्ने किम्वदन्ति समेत रहेको पाइन्छ। वल्के पर्वमा साना साना खहरे खोलाहरु पनि समुद्रलाइ वल्को दिन जान्छन भन्ने मान्यता रहि आएको छ।
खहरे खोलामा अन्य समयमा पानि नहुने भएको हुँदा बर्सातको समयमा उर्लेर समुद्रसम्म पुग्न सक्ने भन्ने मान्यता रही आएको छ। र, साथै खहरे खोलाले समुद्रसँग छोरी माग्न जाने गरेको भन्ने किम्वदन्ति रहेको छ। तर, विवाह हिउँदमा मात्रै मनाइने भएको हुँदा सो समयमा साना खहरे खोलामा पानी सुकेर जाने भएको हुनाले खहरेको सपना पूरा नहुने भन्ने भनाइ रहेको पाइन्छ। यो पर्वलाइ जसरी मनाए पनि यो पर्वको उदेश्य भनेको मित्रता बलियो बनाइ राख्नु रहेको छ।
मानिसहरुको बसाइ सर्ने क्रमसँगै यस्ता परम्परागत मान्यता बोकेका चाडवाडहरु हराउदै गएको अवस्था रहेको छ। यस्ता चाडपर्वहरु हाम्रा मौलिक संस्कृति भएकाले जुनसुकै ठाउँमा बसाइ सरेर गए पनि यस्ता संस्कृतिहरु मनाउदा आउने पुस्तालाई संस्कृति हस्तान्तरण गर्न सकिने छ। (लेखक कञ्चनपुरका उप्रेती अधिवक्ता हुन्)