सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुधको मूल्य बजारमा सयसम्म, किसानलाई ५० रुपैयाँ मात्र

२०८० साउन ३२, १२:२८ कमल सावद

धनगढीः कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर-१० उदासीका धनसिँह विष्टले एक भैँसी र एक गाइ पालेका छन्। उनले दैनिक २४ लिटर दुध उत्पादन गर्दै आएका छन्। उन्नत जातको गाइ पालेका विष्टले दुधको मूल्य भने पाएका छैनन्।

उनले ५० रुपैयाँ प्रतिलिटरमा दुध बिक्री गर्दै आएका हुन्। विष्टले ५० रुपैयाँ प्रतिलिटरमा बिक्री गरेको दुध उपभोक्ताले डेरीबाट एक सय रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ। विष्टले दिनेशखबरसँग भने, हामीले गाइको दुध ५० रुपैयामा बिक्री गर्दै आएका छौ। भैँसीको ५५ रुपैया दिने गरेका छन्। उनले भने, ‘डेरीले ५० रुपैयाँ दिने गरेका छन। मसुरियाको सहकारीले अली बढी दिनेगरेको छ। भैँसीको पाँच रुपैयाँ बढी छ। डेरीवालाले ८०, ९० मा बिक्री गर्दै आएका छन्। धनगढीमा त एक सय रुपैयाँसम्म छ।’

कैलालीको गौरीगंगा नगरपालिकामा दैनिक एक हजार ६ सय लिटर दुध उत्पादन हुन्छ। नगरपालिका भित्रका किसानले एक दिनमा १६ सय लिटर दुध उत्पादन गर्दै आएका हुन्। उनीहरुले भैँसी तथा गाइको दुध बिक्री गर्दै आएका छन्। तर किसानले दुधको मूल्य भने पाएका छैनन्। बजारबाट उपभोक्ताले एक सय रुपैयाँसम्म तिर्ने दुधको किसानले भने ५० रुपैयाँ मात्र पाउने गरेका हुन्। ‘धनगढीमा महीको मूल्य पनि ५० रुपैयाँ छ। तर, हामीले दुध ५० रुपैयाँ लिटरमा बिक्री गर्दै आएका छौ,’ विष्टले गुनासो गर्दै भने।

प्रतिलिटरको ५० रुपैयाँमा दुर्ध बिक्री गर्दा गौरीगंगा नगरपालिकामा दैनिक ८० हजारको दुध उत्पादन हुँदै आएको छ। नगरपालिकामा एक महिनामा २४ लाखको दुध उत्पादन हुन्छ। नगरपालिकाको केही वडामा प्रतिलिटर ७० रुपैयाँसम्म दुधको मूल्य भएपनि वडा नम्बर १०, ११ र ९ का किसानले ५० रुपैयाँ मात्र पाएका हुन्। नगरपालिकाले दुध तथा दुध जन्य वस्तुको मूल्य निर्धारण नगरेकाले व्यापारीहरुले मनोमानी गर्दै आएका छन्।

गौरीगंगा नगरपालिकाको पशु शाखा प्रमुख दिपेन्द्र परियारले दुधको मूल्य निर्धारण नगरिएको बताए। उनले भने, ‘उहाँहरु हामी ठाउँ पनि आउनु भएको थियो। स्थानीय ऐन अनुसार मूल्य निधारण गर्न मिल्छ। तर हाम्रोमा निर्णय भएको छैन। मूल्य निर्धारण नभएकाले समस्या देखिएको हो। दुध, मही, मासु, अण्डा, मह लगाएतको मूल्य निर्धारण गर्नुपर्ने हो।’ कैलालीको गौरीगंगा नगरपालिकाका किसानले ५० रुपैयाँ प्रतिलिटरमा दुध बिक्री गर्दै आएका हुन्। 

नगरपालिकाका वडा नम्बर १०, ११, ९ लगाएतका क्षेत्रका किसानले ५० रुपैयाँ प्रतिलिटरमा गाइको दुघ बिक्री गर्दै आएका हुन्। उनीहरुले भैँसीको दुध ५५ रुपैयाँ प्रतिलिटरमा बिक्री गर्दै छन्। डेरीबाट उपभोक्ताले भने एक सयसम्म एक लिटर दुधको मूल्य तिर्नुपर्ने हुन्छ। तर गाइ तथा भैँसी पालक किसानहरुले डेरीको आधा रकम पनि पाउने गरेका छैनन्। नगरपालिकाले दुध तथा दुध जन्य वस्तुको मूल्य निर्धारण नगरेकाले व्यापारीहरुको मनोमानी रहेको हो। नगरपालिकाको बेवास्ताका कारण किसान भने मार्कामा रहेका छन्।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस