सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउनको अन्तिम सोमबार धनगढीको शिवपुरी धाममा भक्तजनको भिड

२०८० साउन २९, १२:२६ खबर संवाददाता

धनगढीः साउन महिनाको अन्तिम सोमबार आज धनगढीको शिवपुरी धाममा दर्शनार्थीको भिड लागेको छ। यस वर्षको साउनको अन्तिम सोमबार आज शिवपुरीसहित सुदूरपश्चिमका शिवालयहरुमा दर्शनार्थी भक्तजनहरुको घुइँचो छ। यस वर्ष साउनमा ५ वटा सोमबार परेको थियो।

शिवपुरी धाममा भक्तजनहरु बेलपत्र, फलफूल हातमा बोकेर दर्शनका लागि लाइनमा बसेको देख्न सकिन्छ। साउन महिना र सोमबार भगवान शिवको महिना एवं बार भएकाले प्रत्येक वर्ष यस महिना शिवालयमा भक्तजनको घुइँचो हुने गर्छ। साउनको सोमबार व्रत बसेर महादेवको पूजा–आराधना गरे मनोकांक्षा पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वास छ।

भक्तजनहरुले शिवपुरीमा भजनकिर्तनसहित नाचगानसमेत गरिरहेका छन्। विवाहित महिलाले श्रीमानको दीर्घायु तथा अविवाहित महिलाले सुयोग्य वर प्राप्तिको कामनासहित साउनमा महादेवको व्रत बस्ने गर्दछन्। साउनको पहिलो सोमबारदेखि नै व्रत बसी शिवको पूजा–आराधना गर्नेहरुले आज गोदान, पूर्णपात्रलगायत धार्मिक कर्म गरी व्रत समापन गर्दछन्। साउनको अन्तिम सोमबार आज बिहानैदेखि शुद्ध जल ल्याई शिवपुरी धाममा चढाउने भक्तजनको पनि भिड छ।

कमेन्ट लोड गर्नुस