दशैंको लागि आजदेखि अनलाइनबाट खसीबोको बुकिङ सुरु
काठमाडौं: दशैंका लागि आजदेखि अनलाइनबाटै खसीबोका बुकिङ गर्न सकिने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंमा खसीबोका तथा च्यांग्रा अनलाइनबाटै बुकिङ गर्न सकिने व्यवस्था गरेको हो।
दशैंलाई लक्षित गरेर बुकिङ प्रणाली बनाएको कम्पनीले जनाएको हो। अनलाइनमा गएर खसीबोका वा च्यांग्रा के बुकिङ गर्ने हो क्लिक गरेर चार हजार रुपैयाँ तिरेर बुकिङ गर्न सकिने बताइएको छ। बुकिङ गरेपछि एउटा कोड नम्बर आउने त्यही नम्बर लिएर आएर हिसाब मिलान गरेर बुकिङ गरेको खसीबोका वा च्यांग्रा लैजान सकिने बताइएको छ।
च्यांग्राको भने पाँच हजार तिर्नुपर्नेछ। खल्ती वा इसेवा एपबाट पैसा तिर्न सकिनेछ। अनलाइनमा आएको बुकिङ अनुसार खाद्यले खसीबोका र च्यांग्रा ल्याउने बताइएको छ। अहिले नै मूल्य भने तय नहुने कम्पनीको भनाइ छ। एकजनाले पाँचदेखि दशवटा सम्म बुकिङ गर्न सकिनेछ। आफूले बुकिङ गरेको खसीबोका वा च्यांग्रा कुन दिन लिन आउने अनलाइनमै उल्लेख गर्नुपर्ने पनि कम्पनीले जनाएको छ।