धनगढीका उद्यमी मदन भट्टले उठाए उद्योग वाणिज्य संघ र महोत्सवसम्बन्धी गम्भीर प्रश्न
धनगढीः कैलाली उद्योग वाणिज्य संघको आसन्न निर्वाचनलाई लक्षित गर्दै धनगढीका उद्यमी मदन भट्टले संघको भावी नेतृत्वसँग सार्वजनिक प्रश्न गरेका छन्।
आफ्नो विचार तथा प्रश्न सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उम्मेदवारहरू पुष्कर राज ओझा, रुपेश स्वार तथा स्वतन्त्र समूहका मित्रहरुलाई पारदर्शिता र सुधारको आवश्यकता औंल्याएका हुन्। उनले संघको विधानमा रहेका ‘अप्रजातान्त्रिक प्रावधान’ हटाइने वा यथास्थितिमै अघि बढाइने भन्ने प्रश्न उठाएका छन्।
साथै, हरेक वर्ष आयोजना हुने सुदूरपश्चिम महोत्सवको आय–व्यय विवरण सार्वजनिक नगर्ने प्रवृत्तिप्रति प्रश्न उठाउँदै उनले महोत्सव घाटामा भए किन निरन्तर आयोजना गर्ने र नाफा भए त्यो रकम सामाजिक कार्यमा खर्च गरेको हिसाब किन नदेखाउने भन्दै जवाफ मागेका छन्।
भट्टले महोत्सव पर्यटन र व्यापार प्रवद्र्धनको उद्देश्यभन्दा भड्किलो मनोरञ्जनमा सीमित भएको उल्लेख गर्दै गम्भीर प्रश्न उठाएका छन्। उनका अनुसार भारतबाट ल्याइने ‘मौतका कुवा’ र ‘झुला’ जस्ता आकर्षणले ठूलो रकम भारततर्फ लैजाने मात्र गरेको छ। कलाकारलाई ठूलो पारिश्रमिक तिरेर ल्याउँदा ‘अश्लील प्रस्तुतिहरू’ मात्र देखाउने प्रचलन बढेको भन्दै उनले यसरी सुदूरपश्चिमको संस्कृति प्रवद्र्धन सम्भव नहुने टिप्पणी गरेका छन्।
त्यस्तै, महोत्सवमा कर्णाली क्षेत्रका व्यापारीहरूको बाहुल्य रहने र गुणस्तरहिन कपडा तथा ब्ल्याङ्केट बिक्री गर्ने प्रवृत्तिले धनगढीको बजारलाई असर गर्ने गरेको उनले औंल्याएका छन्। उनले महोत्सवलाई स्थानीय व्यापार प्रवद्र्धनसँग जोड्ने ठोस योजना सार्वजनिक गर्न नेतृत्वसँग आग्रह गरेका छन्।
महोत्सवमा जथाभावी खोलिएका रक्सी भट्टी र त्यसबाट देखिने विकृति–विसङ्गतिप्रति चिन्ता व्यक्त गर्दै उनले नियन्त्रणका लागि स्पष्ट कदम चाल्नुपर्ने बताएका छन्। 'सुदूरपश्चिम महोत्सव गुणस्तरहीन खासा मार्केटमा परिणत भएको छ, यसको मान–सान र गौरव जोगाउने जिम्मा अब नयाँ नेतृत्वको काँधमा आएको छ,' भट्टले लेखेका छन्।
अन्त्यमा उनले गोपाल हमालको उद्योग वाणिज्य संघ अध्यक्षकालमा भएका सुधारात्मक कदमको स्मरण गर्दै भनेका छन्, 'हिजोको दिनमा धनगढीको मेयर गोपाल हमाल जन्माउने उद्योग वाणिज्य संघ भोलि तपाईंहरूमार्फत अर्को गोपाल हमाल जन्माउन सक्छ।' भट्टले पुष्कर राज ओझा वा रुपेश स्वार जुनसुकै समूह विजयी भए पनि उनको शुभकामना रहने उल्लेख गर्दै संघलाई सानदार ढङ्गले अघि बढाउन सुझाव दिएका छन्।