श्रीलंका विस्फोट अप्डेट :मृत्यु हुनेको संख्या २०७ पुग्यो
श्रीलंकाका विभिन्न स्थानमा भएका शृङ्खलाबद्ध बम विस्फोटमा परी मृत्यु हुनेको संख्या २०७ पुगेको छ । विस्फोटमा ५०० भन्दा बढी घाईते भएका छन्।
बिहानको समयमा तीन वटा चर्च र तीन वटा होटलमा शृङ्खलाबद्ध विस्फोट भएका थिए। त्यसपछि पनि विभिन्न स्थानमा थप दुई वटा विष्फोट भएको स्थानीय अधिकारीले जनाएका छन्।
पछिल्लो विष्फोटमा तीन जना प्रहरी अधिकारी समेत मारिएका छन्। कोलम्बोमा मात्रै ५० जनाको मृत्यु भएको छ। बट्टिकलोआमा २५, नेङबोमा ५० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा केही विदेशी पर्यटक पनि छन। कोच्चिकाडे, बट्टिकलोआ र कटुवापिटिया जिल्लामा रहेका गिर्जाघरमा विस्फोट भएका हुन्।
घाईतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ। मध्य कोलम्बोस्थित सांग्रिला, सिनमन ग्राण्ड र किङ्सबरी होटलमा पनि छुट्टाछुट्टै विस्फोट भएको बताइएको छ।
विस्फोटको समयमा इसाई धर्मावलम्बीहरू इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी हुँदै थिए। घटनापछि देशैभर लागु हुने गरी आज साँझबाट भोलि विहानसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ। सामाजिक सञ्जालहरुमा पनि अस्थायी प्रतिबन्ध लगाइएको छ।
अधिकांश विष्फोटमा आत्मघाती आक्रमणकारी संलग्न रहेको र ती सबै एउटै समुहका रहेको श्रीलंकाली रक्षामन्त्री रुवान विजेवर्दनलाई उद्धृत गर्दै अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
विष्फोटमा संलग्न भएको आशंकामा सात जनालाई पक्राउ गरिएको छ। विस्फोटको जिम्मा कसैले पनि लिएको छैन। सन् २००९ मा २६ वर्षे लामो गृहयुद्ध अन्त्यपछि श्रीलंकामा हिंसाका घटना छिटपुट मात्र हुने गरेका थिए। गत वर्ष भने बौद्ध र मुस्लिम समुदाबीच हिंसा चर्किँदा राष्ट्रिय संकटकाल घोषणा गरिएको थियो। श्रीलंकामा बहुसंख्यक सिंहाली समुदायको बसोबास छ।