सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको ट्रमा सेन्टर ४ वर्षदेखि सञ्चालनमा आएन

२०८३ भदौ १०, ०९:५३ खबर संवाददाता

बैतडीः बैतडीको पाटन नगरपालिका–८ सिद्धेस्वर स्वास्थ्य चौकी परिसरमा निर्माण गरिएको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनमा आउन सकेको छैन। दुर्घटना र विपद्का घाइतेलाई तत्काल उपचार उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको ट्रमा सेन्टर सञ्चालनमा ढिलाइ हुँदा यस क्षेत्रमा हुने विभिन्न दुर्घटनाका घाइतेहरूले समयमै उपचार नपाएर ज्यान गुमाइरहेका छन्।

गत पुस २८ गते पाटन नगरपालिका–८ विजयपुरमा भएको जिप दुर्घटनामा सिगास गाउँपालिका–१ की २७ वर्षीया बसन्ती ऐर गम्भीर घाइते भएकी थिइन्। स्थानीयवासी र प्रहरीले तत्काल उद्धार गरे पनि उनलाई डडेल्धुरा अस्पताल  पुर्‍याउन करिब दुई घण्टा लाग्यो। अस्पताल पुगेको आधा घण्टापछि उनको मृत्यु भयो। 

मृतकका आफन्त जगदीश ऐरका अनुसार अस्पतालले थोरै समयअघि मात्रै उनले उपचार पाएको भए ज्यान जोगिनसक्ने बताएको थियो। ‘सायद त्यो बेला यो ट्रमा सेन्टर सञ्चालनमा भएको भए उहाँको ज्यान जोगिन्थ्यो होला,’ उनी भन्छन्।

उनले भनेजस्तै उक्त दुर्घटनास्थल र ट्रमा सेन्टर स्थापना गर्न बनाइएको भवन रहेको स्थानको दूरी चार किलोमिटर मात्रै थियो।  

पाटन नगरपालिका–८ गैराखानमा बस दुर्घटना भयो। धन्न यो दुर्घटनामा हालसम्म कसैको ज्यान गएको छैन। तर, घाइतेमध्ये पाँच जनालाई धनगढी रिफर गर्नुपरेको छ। १७ जनाको उपचार सिद्धेस्वर स्वास्थ्य चौकीमै गरिएको छ।

यसअघि गत माघमा बैतडीको पुर्चौडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो, ४९ जना घाइते भएका थिए। उनीहरूलाई डडेल्धुरा अस्पताल पुर्‍याउन चार घण्टाभन्दा बढी समय लागेको थियो। अस्पताल ल्याउँदा बढी समय लागेकाले बाटोमा थप पाँच जनाको ज्यान गएको थियो।

ट्रमा सेन्टर बनाउने भनिएकै ठाउँ नजिकै तीन वर्षअघि गोकुलेश्वरबाट महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु र २२ जना घाइते भएका थिए।

जोखिम क्षेत्रलाई हेरेर ट्रमा सेन्टर, तर सञ्चालन भएन
बैतडीको खोडपे क्षेत्रलाई सवारी दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र मानिन्छ। यही कारण तत्काल उपचार उपलब्ध गराउने उद्देश्यले २०७९ मा पाटन नगरपालिकाको १० लाख र संघीय सरकारको ५० लाख रुपैयाँ गरी ६० लाख रुपैयाँको लागतमा ट्रमा सेन्टर स्थापना गर्ने भन्दै सिद्धेश्वरमा भवन निर्माण गरिएको थियो।

भवनसँगै स्पाइनल ब्याकबोर्ड, एईडी मेसिन, अक्सिजन कन्सन्ट्रेटर, प्यासेन्ट मोनिटर र १५ वटा बेडसिटलगायतका सामग्री पनि राखिएका छन्। तर, आवश्यक थप उपकरण र जनशक्तिको व्यवस्थापन भने हुन सकेको छैन।

पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराका अनुसार एक्सरे मेसिन, अर्थोपेडिक चिकित्सक, रेडियोग्राफर, स्टाफ नर्स र हेल्थ असिस्टेन्टको व्यवस्था भए ट्रमा सेन्टर तत्काल सञ्चालन गर्न सकिन्छ।

पाटन नगरपालिका–८ का वडाध्यक्ष हरिश विष्टले आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारसँग पटकपटक लिखित तथा मौखिक रूपमा आग्रह गरेपनि सुनुवाइ नभएको बताउँछन्।

‘मुख्यमन्त्रीदेखि सामाजिक विकास मन्त्रीसम्मलाई पटकपटक जानकारी गराएका छौँ।, तर अहिलेसम्म कुनै ठोस पहल भएको छैन,’ उनी भन्छन्।

वडाध्यक्ष विष्ट गतवर्ष सुदूरपश्चिम प्रदेश सरकार तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेरै ट्रमा सेन्टर सञ्चालनमा ल्याइदिन ज्ञापनपत्र बुझाएको बताउँछन्। ‘तर, हालसम्म सुनुवाइ भएन। नगरपालिकाको आफ्नै हैसियत छैन,’ उनले थपे ।

प्रहरीका अनुसार पछिल्ला तीन वर्षमा बैतडीमा ३४ वटा सवारी दुर्घटना भएका छन्। यस अवधिमा भएका दुर्घटनामा परी ४७ मृत्यु भएको छ, भने १२७ जना घाइते भएका छन्।

कमेन्ट लोड गर्नुस