कैलालीको घोडाघोडीमा वन अतिक्रमण गर्दै भौतिक संरचना
धनगढीः कैलालीको घोडाघोडी नगरपालिकामा वन भित्र भौतिक संरचना निर्माण हुँदैछन्। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर २ मा रहेको मोहन्याल सामुदायिक वनमा अतिक्रमण गरेर दुई वटा भवन निर्माण हुँदैछन्। दलित सङ्गठन नगर समिति र अपाङ्ग सङ्घ नगर समितिले भवन निर्माण गर्न थालेका हुन्।
सामुदायिक वनले आफ्नो वनको प्रयोजनका लागि बाहेक अन्य संरचना निर्माण गर्न नपाउने कानूनी प्रावधान छ। तर, कैलालीमा मनोमानी वन क्षेत्रमा भौतिक संरचनाहरु निर्माण हुँदै आएका छन्। विभिन्न संघ, संस्थालगायत सरकारी कार्यालय तथा वडा कार्यालयहरु, स्वास्थ्य चौकीसमेत सामुदायिक वनमा निर्माण हुँदै आएका छन्।
मोहन्याल सामुदायिक वनले वनकै कार्यालय र हल निर्माण गर्ने निर्णय गरेको थियो। तर, अरू कार्यालयको भवन बनाउने कुनै प्रक्रिया सुरु गरिएको छैन। यता, घोडाघोडी सामुदायिक वनमा आधारभूत स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ। त्यसनजिक यो वर्ष मजदुर संगठनको पक्की भवन पनि निर्माण भएको छ।
कैलालीमा डिभिजन वन कार्यालय, पहलमानपुर अन्तर्गत रहेका ३१३ सामुदायिक वनमध्ये राजमार्गसँग जोडिएका, बजार क्षेत्रनजिक रहेका वन क्षेत्रमा सामुदायिक वनका भवनबाहेक सरकारी भवन तथा विभिन्न गैरसरकारी संघ, संस्थाका भवन बन्ने क्रम बढ्दै गएको देखिन्छ।
२०७४ सालको स्थानीय चुनावपछि धेरै नगरपालिका तथा वडा कार्यालय भवनसमेत सामुदायिक वनको जग्गामा बनेका छन्। डिभिजन वन कार्यालय कैलालीका डिभिजन प्रमु्ख केशव पराजुलीले पछिल्लो समय संस्थागत संरचना निर्माणले सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण बढ्दै गएको बताए।
कानूनी रूपमा संरचना निर्माण गर्न नपाउने भएपछि सरकारी भवन तथा अन्य संघ, संस्थाका भवन निर्माण सामुदायिक वन उपभोक्ता समितिकै प्रयोजनका लागि भनेर निर्णय गराएर बनाइने गरेको पाइएको छ।