सुदूर नेपाललाई विश्वसँग जोड्दै

केन्द्र सरकार प्रदेशलाई असफल बनाउने खेलमा छ :मुख्यमन्त्री पौडेल

। फोटो स्रोत ।
२०७६ वैशाख ८, ०६:२५ खबर संवाददाता

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले केन्द्र सरकार प्रदेशलाई असफल बनाउने खेलमा लागेको आरोप लगाएका छन्। अलपत्र परेका योजनाहरु प्रदेश सरकारलाई जिम्मा लगाएको भन्दै उनले प्रदेश सरकारलाई अघि बढ्ने भन्दा पनि असफल बनाउने खेलमा संघीय सरकार रहेको बताएका हुन्।

‘संघीय सरकारले आर्थिक प्रगति ९९ र भौतिक प्रगति ५० प्रतिशत भएको योजना प्रदेशको जिम्मेवारीमा पठाएको छ अब कसरी सम्भब छ योजना कार्यान्वयन गर्न?’ मुख्यमन्त्री पौडेलले प्रश्न गरे। मुख्यमन्त्री पौडेलले अहिले प्रदेश सरकारलाई अधिकार नहुँदा टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता भएको गुनासोसमेत गरेका छन्।

उनले बजेटमा केन्द्रबाटै सुधार भएर आउनुपर्ने भन्दै उनले कुन विकास निर्माणको काम कुन सरकारले गर्ने भन्ने कुरा छुट्टिन जरुरी रहेको बताए। मुख्यमन्त्री पौडेलले नीतिगत स्पष्टता नहुँदा अहिलेसम्म मुलुक विकासको गतिमा अघि नबढेको भन्दै तीनवटै सरकारले प्राथमिकता निर्धारण गरेर बजेट विनियोजन गनुपर्ने बताए।

संघीय संसदको अर्थ समितिको आयोजनामा आउँदो आर्थिक वर्षको पूर्वबजेट छलफलमा बोल्दै उनले प्राथमिकताको आधारमा छुट्याइएका भन्दा पनि खल्तिका योजनामा लागेकाले मुलुक समृद्धिको दिशामा अघि नबढेको दावी गरे। कार्यक्रममा संघीय सरकारले समावेश गर्ने बजेटमा अर्थ नीति कस्तो हुनु पर्ने, उद्योगी व्यवसायीहरुका लागि कस्तो नीति अवलम्बन गर्नुपर्ने, सरकारले कुन(कुन क्षेत्रमा अनुदान दिनुपर्ने लगाएयको बिषयमा छलफल गरिएको छ।

छलफलमा आएका सुझाबका आधारमा अर्थ समितिले सरकारलाई बजेट बनाउँदा समेट्नु पर्ने बिषयमका बारेमा निर्देशन दिने अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले बताए। कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटलाई प्रभाबमुख बनाउनका लागि यस्ता छलफल गरिएको बताए।

कार्यक्रममा प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेल, प्रदेशका प्रमुख सचिब आनन्दराज ढकाल लगायतकाले बजेट कार्यान्वयनमुखी हुनुपर्नेमा जोड दिएका छन्। कार्यक्रममा प्रदेश ३ मन्त्रालयका कर्मचारी, जिल्लाका गाउँपालिका, नगरपालिका, उपमहानगरका प्रमुख तथा उपप्रमुख उद्योगि, ब्याबसायीलगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो।

कमेन्ट लोड गर्नुस