सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बाढीका कारण ४६३ घरमा क्षति

फाइल फोटो
फाइल फोटो
२०८० साउन २३, ११:१५ खबर संवाददाता

धनगढीः कैलालीमा बाढीका कारण चार सय ६३ घरमा क्षति भएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीको तथ्याँक अनुसार जिल्लाका विभिन्न क्षेत्रका चार सय ६३ घरमा बाढीले क्षति गरेको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार सबै भन्दा बढी कान्द्रा नदीले घोडाघोडी नगरपालिका वडा नम्बर ७ को सिराधानी शिविरमा एक सय ५० घरमा क्षति भएको छ।

सोमवार रातिको वर्षाले जिल्लाका घरहरुमा क्षति गरेको हो। जिल्ला प्रशासनको तथ्याँक अनुसार कैलारी गाउँपालिका वडा नम्बर ७ को कटैनी नदीले ८५ घरमा क्षति गरेको छ। यस्तै, धनगढी उपमहानगरपालिकाको वडा नम्बर १५ कनरीमा खुटीया नदीले १५ घरमा क्षति गरेको छ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ को खैरना खोलाले चैतनपुरमा एक पसलमा क्षति गरेको छ। भजनी नगरपालिका वडा नम्बर २ को काडा नदीले मोहनपुरमा १५ घर, वडा नम्बर ३ को ढुसीमा ५ घरमा क्षति, जनकपुरमा एक घर, पुलियापुरमा १६ घर र कुटीमा ५० घरमा क्षति भएको छ।

जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ३ फाँडिया र भितरिया गाउँमा कादा नदीको बाढीले ५६ घरमा क्षति भएको छ। कैलारी गाउँपालिकाको वडा नम्बर ७ का बसन्तामा ८५ घर, भुइयाँफाटामा २० घर, बडकी बसन्ताका ५० घरमा क्षति भएको छ। 

जिल्लाको बुढीतोलामा पहिरोले भीमदत्त राजमार्ग भाँसिएको छ। जिल्लामा अन्य सडक सञ्जाल सुचारु छ। मानविय क्षति भने भएको छैन।

कमेन्ट लोड गर्नुस