सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरले बर्सेनि गर्छ दुई हजार मेट्रिकटन माछा आयात, आन्तरिक उत्पादन कति?

२०८० साउन २२, ०७:०६ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिममा माछाको उत्पादन अझै बढ्न सकेको छैन्। प्रदेशभित्र आवश्यकताको एक तिहाई भन्दा कम मात्र माछा उत्पादन हुने गरेको छ। ७० प्रतिशत माछाका लागि भारतकै भरपर्नुपर्ने तथ्यांकले छ। वर्षेनि दुई हजार मेट्रिकटन माछा भारतबाट आयात गरेर उपभोग गर्नुपर्ने बाध्यता यहाँका उपभोक्ताको छ।

सुदूरपश्चिमको वार्षिक माछाको खपत ३० हजार मेट्रिकटन छ। प्रति व्यक्ति वार्षिक १० किलोग्राम माछा खपत हुने हिसाबले सुदूरपश्चिममा एक तिहाइ माछा पनि उपलब्ध छैन। हाल सुदूरपश्चिममा ९ हजार १३० मेट्रिकटन माछा उपलब्ध रहेको सरकारी तथ्याङ्कले देखाएको छ। उपलब्ध माछा मध्ये दुई हजार मेट्रिकटन भारतबाट आउने गरेको मत्स्य विकास केन्द्र गेटाका प्रमुख डाक्टर सूर्य शाहीले बताए।

‘सुदूरपश्चिममा अहिले मागको एक तिहाइ माछा मात्रै उपलब्ध छ,’ उनले भने, ‘बजारमा उपलब्ध भएको ९ हजार १३० मेट्रिक टन मध्ये दुई हजार मेट्रिकटन भारतबाट आयात हुने गरेको छ।’ सुदूरपश्चिममा दुई हजार ५४२ पोखरीमा पाँच हजार ३८० किसानले माछा पालन गरिरहेका छन्। यो वर्ष  प्रदेशभर १ हजार ३७५ हेक्टर क्षेत्रफलमा माछा पालन गरिएको छ। कैलालीमा १ हजार ८ सय पोखरीमा ३ हजार ८ सय किसानले माछा पालन गरेका छन्।

कैलालीमा एक हजार एक सय हेक्टर क्षेत्रफलमा माछा पालन गरिएको छ। जिल्लाभित्र तीन हजार एक सय मेट्रिकटन माछा उत्पादन हुने अनुमान छ। यसैगरी कञ्चनपुरमा ७ सय पोखरीमा एक हजार दुई सय किसानले माछा पालन गरेका छन्। चार सय हेक्टर क्षेत्रफलमा गरिएको माछापालनबाट एक हजार पाँच सय मेट्रिकटन माछा उत्पादन भइरहेको शाहीले बताए। सुदूरपश्चिमको खपतको दुई तिहाई माछा अझै अभाव रहेको छ।

बजारको आवश्यकता पूरा गर्न अहिलेभन्दा तेब्बर बढी माछा उत्पादन गर्नुपर्ने देखिन्छ। सुदूरपश्चिममा सघन रुपमा माछा पालन नहुँदा अहिले पनि भारतको आन्द्र प्रदेशको माछा आयात हुने गरेको छ। भारतीय माछा सस्तो हुने भएकाले यहाँको उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने समस्या छ। सरकारबाट माछा उत्पादन गर्न किसानलाई सहयोग नहुँदा माछा उत्पादन बढ्न सकेको छैन।

भुरा उत्पादन, दाना, औषधि र प्रविधिमा सहयोग गरेर मूल्य शृङ्खलाको निर्माण गर्न सरकारी सहयोग नहुँदा माछा उत्पादन बढ्न सकेको डाक्टर शाहीको भनाइ छ। ‘सुदूरपश्चिममा सघन रुपमा माछापालन हुन सकेको छैन। माछाको उत्पादन  बढाउन सरकारले पनि ‘इनपुट’ दिन सकेको छैन,’ उनले भने, ‘किसानले परम्परागत तरिकाले माछा पालन गरिरहेका छन्।

भुरा उत्पादन, दाना, औषधी, प्रविधि र मूल्य शृङ्खला निर्माण गर्न सरकारको तर्फबाट काम भएको छैन। जसका कारण माछा उत्पादन बढ्न सकेको छैन।’ सरकारी लगानी र कृषक मैत्री नीतिको अभावमा सुदूरपश्चिममा माछा उत्पादन बढ्न सकेको छैन। वार्षिक खपत ३० हजार मेट्रिकटन भए पनि सुदूरपश्चिम प्रदेशमा ७ हजार मेट्रिकटन माछा मात्रै उत्पादन हुन्छ।

कैलाली र कञ्चनपुरमा ९० प्रतिशत माछा उत्पादन हुन्छ भने पहाडी जिल्लामा १० प्रतिशत माछा उत्पादन हुने गरेको छ। सुदूरपश्चिमको मागअनुसार माछा उत्पादन नहुँदा बर्सेनि भारतबाट माछा आयात हुने गरेको छ। उपभोगसँगै उत्पादन बढ्न नसक्दा बर्सेनि भारतको आन्द्र प्रदेशबाट माछा आयात हुँदै आएको छ। सरकारले माछाको उत्पादन बढाउन भुरा, दाना, औषधी र प्रविधिमा किसानलाई सहयोग गर्न पनि सकेको छैन।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस