सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोगी लागुऔषध प्रयोगकर्ता जेलभित्र हुलिँदै, किन अपराधिको संज्ञा?

२०८० साउन २२, १२:४४

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिमका अधिकांश युवा लागुऔषधको दलदलमा छन्। प्रहरीले मात्र लागुऔषधमा संलग्न रहेको भन्दै दैनिक आधा दर्जनको संख्यामा किशोरी/किशोरीदेखि युवासम्मै पक्राउ गर्दै आएको छ। प्रहरीले थाहा नपाएको यस्तो संख्या कयौँ गुणा ठुलो छ। पछिल्लो समय प्रहरीको दैनिकी लागुऔषध प्रयोगकर्ता छोप्दै र जेलभित्र हुँल्दैमा वितिरहेको छ।

रोगी लागुऔषध प्रयोगकर्तालाई उपचार गराउन छोडेर जेलभित्र हुँलेर प्रहरी प्रशासनले कस्तो सन्देश दिन खोजेको हो? बुझिनसक्नु छ। कानुनतः लागुऔषधको सेवन अपराध हो। विक्रीवितरण र बेचबिखन अझ त्यो भन्दा ठुलो अपराध हो। लागुऔषध विक्रीवितरण र ओसारपसारमा संलग्नहरु भने प्रहरीले पक्राउ गर्न सकिरहेको छैन्। तर सेवनकर्ता जो रोगी हुन उनीहरुलाई भने धमाधम पक्राउ गरेर जेलभित्र हुँल्ने काम हुँदै आएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार बितेको एक वर्षमा मात्र करिब ९ सय रोगी लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन्। तीमध्ये करिब ६ सयको हाराहारीमा प्रदेशका विभिन्न रोगी लागुऔषध प्रयोगकर्तालाई कारागारभित्र कैद गरिएको छ। भनिन्छ ‘पानी र जवानी कहिले फर्केर आउँदैन।’ अहिले यही अवस्थामा छन रोगी लागुऔषध प्रयोगकर्ता। कुलत खराब आनीबानी हो।

जीवनको सुन्दरता तथा महत्वबारे भेउ नपाउनेहरु लापर्बाहीपूर्वक वा नबुझेर क्षणिक आनन्दका लागि आफ्नो अमूल्य जीवनलाई लागुऔषधको दुर्व्यसनमा डुबाउँछन्। विशेषगरी अत्याधिक आकांक्षा बोक्ने युवायुवतीले लागुपदार्थको नकारात्मक असरबारे बुझ्न आवश्यक छ। लागुपदार्थ तथा औषधि सेवनले व्यक्तिको केन्द्रीय स्नायू प्रणालीमा नकारात्मक असर पुर्याउँछ।

मस्तिष्क अनि शरीरलाई लट्ठ पार्छ। यसरी शरीरलाई निन्द्राको भावमा मोहित पार्न सेवन गरिने नशादार वा मादक वस्तुलाई लागुपदार्थ पनि भनिन्छ। यस्तो वस्तुको सेवन गर्ने लतलाई दुर्व्यसन भनिन्छ। यो आधुनिक समाजले नराम्रो मानेको आदत हो।
तनाव, चिन्ता, समस्या, चुनौतीसँग सामना गर्न नसक्नेहरु लागूपदार्थ सेवनकर्ता भई यस्तो आदत अंगाल्छन्। यो सेवन गर्दा बानी व्यहोरा तथा दैनिक क्रियाकलापमा परिवर्तन भइदिन्छ। अर्थात उनीहरु लट्ठिन्छन्।

यस्तो अवस्थामा उनीहरुलाई परिवार, समाज, आफन्त, डर त्रास, भूत, वर्तमान र भविष्यबारे कुनै मतलब हुँदैन्। अर्थात उनी लागुऔषधका रोगी हुन्। लागुऔषध दुव्यर्सनमा फस्नुको पहिलो कारण उसको परिवार हो। परिवारको कुनै सदस्यले लागुऔषधको प्रयोग गर्दा बालबालिकाले पनि त्यसको सिको गर्छन्। त्यही कारणले पनि उनीहरू लागुऔषधको प्रयोग गर्छन्। दोस्रो मुख्य कारण भनेको अहिलेको पुस्ता साथीहरूको दबाबलाई थेग्न नसकेको कारणले पनि लागुऔषधको कुलतमा फसेका छन्।

गलत साथीको संगतले यस्तो समस्या झन भयावह रुपमा देखा पर्दै आएको छ। यस्तो कुलतमा फस्नुको तेस्रो कारण भनेको घरेलु हिंसा तथा दुर्व्यवहार पनि हो। तथापि लागुऔषध ओसारपसार र विक्रीवितरणमा संलग्नबाहेक सेवनकर्ता भने अपराधि भन्दा पनि लागुऔषध रोगी हुन्।

लागुऔषध कारोबारीलाई कानुनको कठघरामा उभ्याउने, लागुपदार्थको दुर्व्यसनीलाई अपराधिको रूपमा नहेरी यो एक प्रकारको रोग हो उपचार गरे अवश्य निको हुन्छ भन्ने चेतना व्यापक रूपमा जनमानसमा फैलाउने काम संघ, प्रदेश, स्थानीय तह र प्रहरी प्रशासनले गर्नुपर्नेमा उल्टै रोगी लागुऔषध प्रयोगकर्तालाई जेलभित्र हुँलेर अपराधिको संज्ञा दिनु समस्याको दिर्घकालिन समाधान नभएको लागुऔषध विशेषज्ञ चिकित्सक बताउँछन्।

युवाले चाहे के हुँदैन? युग बदलिन सक्छ, क्रान्ति ल्याउन सक्छ भने लागुपदार्थको दुर्व्यसनी कुन ठूलो विषय हो? त्यस कारण रोगी लागुऔषध प्रयोगकर्तालाई जेलभित्र हुँलेर नभई लागुऔषध रोग विशेषज्ञ चिकित्ससँगको परामर्शमा औषधिबाटै तहसनहस हुँदै गएको युवाको जवानीलाई पुनरजीवन दिन सकिन्छ।

कमेन्ट लोड गर्नुस