धनगढीमा पशुपन्छी र महेन्द्रनगरमा पशु क्वारेन्टिन बन्द, कारण यस्तो छ
धनगढीः कैलालीको धनगढीमा रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको सेवा ठप्प भएको छ। त्यस्तै कञ्चनपुरको महेन्द्रनगर स्थित पशु क्वारेन्टिन चेकपोस्ट पनि बन्द गरिएको छ। चालु आर्थिक वर्षका लागि संघ सरकारले बजेट विनियोजन नगरेपछि धनगढीको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र महेन्द्रनगरको नाकामा रहेको पशु क्वारेन्टिन चेकपोस्ट बन्द गरिएको हो।
प्रयोगशालाले १५ साउनबाट अति आवश्यकबाहेक सबै प्रकारका सेवा बन्द गरेको छ। धनगढीस्थित प्रयोगशालाका प्रमुख डाक्टर नरेशप्रसाद जोशीले पशुचौपायामा व्यापक मात्रामा रोग देखिएको अवस्थामा बाहेकका सेवा बन्द गरिएको बताए। यो प्रयोगशालाले सुदूरपश्चिमका नौवटै जिल्लाका पशुचौपायामा देखिएको रोग परीक्षण, निदान, खोप वितरणलगायत सेवा प्रदान गर्दै आएको छ।
प्रयोगशाला बन्द भएपछि पशुपन्छीका खोप वितरण कार्य पनि रोकिएको छ। प्रयोगशालामा अहिले खोरेत, पिपिआर, रेबिजलगायत रोगका आठ लाख खोप मौजदात रहेको प्रयोगशाला प्रमुख जोशीले बताए। ती खोप जिल्लाहरूलाई वितरण र व्यवस्थापन गर्न बजेट नरहेको उनले बताए। धनगढी प्रयोगशालामा चार पशु चिकित्सकसहित १४ जना कर्मचारी कार्यरत छन्।
सुदूरपश्चिममा केही समययता पशुचौपायामा लम्की स्किन, अफ्रिकन स्वाइन फिबर, रेबिजस्ता रोग फैलिएको छ। यही वेला रोग परीक्षण र निदान गर्ने तथा आवश्यक खोप उपलब्ध गराउने निकाय बन्द हुँदा रोग नियन्त्रणमा असर पर्ने देखिएको छ।
साथै संघ सरकारले बजेट नदिएपछि धनगढी र महेन्द्रनगरको नाकामा रहेका पशु क्वारेन्टिन चेकपोस्ट समेत बन्द गरिएका छन्। चेकपोस्ट बन्द हुँदा भारतबाट आउने पशुजन्य उपजको परीक्षण रोकिएको छ। ‘कार्यालयका लागि बजेट शून्य छ। परीक्षण किटसमेत नभएपछि तत्कालका लागि सेवा बन्द गरेका छौँ,’ पशु क्वारेन्टिन कार्यालय कञ्चनपुरका प्रमुख डाक्टर उत्तम आयार्चाले भने, ‘अर्थ मन्त्रालयबाट कुनै पनि दायित्व सिर्जना हुने काम गरे व्यक्ति स्वयंले व्यहोर्ने भन्ने परिपत्र आएको छ।’
भारतबाट आउने पशुजन्य सामग्री परीक्षणका लागि दुई नाकामा क्वारेन्टिन राखिएको छ। सरकारले प्लान्ट, पशु, खाद्य क्वारेन्टिन मर्ज गर्ने निर्णय गरेको बुझिएको उनले बताए। ‘मर्ज नहुन्जेलसम्म क्वारेन्टिन सञ्चालनको व्यवस्था गर्नुपर्ने हो,’ आचार्यले भने।