कृष्णपुरको आन्तरिक आम्दानी घट्यो, कुन शिर्षकबाट कति आम्दानी?
धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को आन्तरिक आम्दानी एक करोड ९९ लाख ३० हजार ९८७ मात्र थियो। आर्थिक वर्ष २०७८/७९ मा भने बढेर पाँच करोड २८ लाख ६२ हजार चार सय ४८ रुपैयाँ पुग्यो। गत आर्थिक वर्ष २०७९÷८० मा भने यस्तो आम्दानी घटेको छ। गत आर्थिक वर्ष २०७९/८० मा कृष्णपुरको आन्तरिक आम्दानी चार करोड ७८ लाख ५६ हजार ६ सय ५९ रुपैयाँ मात्र छ।
कृष्णपुर नगरपालिकाको तथ्याँक अनुसार एकीकृत सम्पत्ति करबाट दुई लाख २१ हजार आठ सय ७४ रुपैयाँ आम्दानी भएको छ। आर्थिक वर्ष २०७८/७९ मा यो शिर्षकमा दुई लाख १९ हजार पाँच सय १५ रुपैयाँ संकलन भएको थियो। २०७७/७८ मा तीन लाख दुई सय ५३ रुपैयाँ सम्पत्ति करबाट आम्दानी भएको थियो। नगरपालिकाले भूमि तथा मालपोत करबाट ६ लाख ८ हजार ८ सय १६ रुपैयाँ गत आर्थिक वर्षमा संकलन गरेको छ।
अघिल्लो आर्थिक वर्षमा पाँच लाख ७८ हजार रुपैयाँ भूमि करबाट उठेको थियो। २०७७/७८ मा भूमि तथा मालपोत करमा नगरपालिकाले ९ लाख ४८ हजार नौ सय ४९ रुपैयाँ आम्दानी गरेको थियो। नगरपालिकालाई घरवाहाल कर शिर्षकमा गत आर्थिक वर्षमा ८ लाख ६९ हजार दुई सय ५१ रुपैयाँ आम्दानी भएको छ। सो शिर्षकमा अघिल्लो आर्थिक वर्षमा चार लाख ७९ हजार मात्र आम्दानी भएको थियो।
घरवाहाल करमा आर्थिक वर्ष २०७७/७८ मा तीन लाख पाँच हजार ८ सय ६४ रुपैयाँ आम्दानी भएको थियो। नगरसपालिकाले सवारी साधन करबाट ११ हजार पाँच सय आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा यो शिर्षकमा कर संकलन हुन सकेको थिएन्। आर्थिक वर्ष २०७७÷७८ मा मनोरञ्जन करबाट १६ हजार पाँच सय संकलन गरेको कृष्णपुरले गत आर्थिक वर्षमा एक हजार तीन सय ५० रुपैयाँ मात्र संकलन गर्न सकेको छ।
कृष्णपुरले अन्य कर शिर्षकमा दुई लाख पाँच हजार चार सय ७० रुपैयाँ आम्दानी गरेको छ। नक्सापास दस्तुरबाट नगरपालिकाले एक लाख ४४ हजार पाँच सय ७८ रुपैयाँ गत वर्ष आम्दानी गरेको छ। शिफारिस दस्तुरबाट एक लाख ६८ हजार आठ सय ३७ रुपैयाँ, व्यक्तिगत घटना दर्ताबाट सात लाख ३९ हजार एक सय ४०, नाता प्रमाणित दस्तुरबाट ३८ हजार पाँच सय, अन्य दस्तुरबाट ८५ लाख ३६, व्यवसायी रजिष्टेशनबाट दुई लाख २४ हजार ६ सय र अन्य राजस्व शिर्षकमा तीन करोड ४४ लाख ७५ हजार ९ सय ७१ रुपैयाँ आम्दानी गरेको छ।
अन्य राजस्व शिर्षकमा आर्थिक वर्ष २०७८/७९ मा तीन करोड १६ लाख ६ हजार तीन सय ७० र आर्थिक वर्ष २०७७/७८ मा एक लाख २८ हजार दुई सय १९ रुपैयाँ आम्दानी भएको थियो। कृष्णपुरले आर्थिक वर्ष २०७८/७९ भन्दा २०७९/८० मा आन्तरिक आम्दानी कम गरेको छ। अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा आम्दानी घटेको छ। नगरपालिकाको तथ्याँक अनुसार अन्य राजस्व शिर्षकबाट तीन करोड ४४ हजार आम्दानी गरेको छ।