सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफन्त नै ‘बैरी’ भएपछि महिलाको हत्याअघि जबरजस्ती करणी

२०८० साउन १९, ०१:५३ खबर संवाददाता

धनगढीः कैलालीमा महिलाबाट महिला नै असुरक्षित छन् भन्दा पत्यार नलाग्न सक्छ। तर आफ्नै घर परिवारबाट छोरी, बुहारी र नातिनी समेत जबरजस्ती करणीमा पर्ने गरेका घटना सार्वजनिक भइरहेका छन्। साथै आफ्नै साथीबाट समेत महिला सुरक्षित नभएको पछिल्ला केहि घटनाक्रमले देखाइरहेको छ। २०७८ असारमा जबरजस्ती करणी गरी छोरीको हत्या गरेको आरोपमा कैलालीमा एक व्यक्ति पक्राउ नै परेका थिए।

लम्कीचुहा नगरपालिका–२ बघनियाकी १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा ५१ वर्षीय बुबा पक्राउ परेका थिए। मृतकका बुवाले आफ्नै भैँसी गोठमा लगी जबरजस्ती करणी गरी पोल खुल्ने डरले झुण्ड्याई हत्या गरेको अनुसन्धानबाट खुलेको थियो। मृतकका बुबाविरुद्ध त्यतिबेला ज्यानसम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता भएको थियो।

२०७५ असारमा कैलालीमै एक महिलाको सामुहिक बलात्कारपछि हत्या नै गरियो। प्रहरीले ती महिलामाथि जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा ५ जनालाई पक्राउ नै गरेको थियो। कैलालीको गौरीगंगा नगरपालिका–११ की २१ वर्षीया माया विकको शव चपरथली सामुदायिक वनभित्र जबरजस्ती करणीपछि हत्या भएको अवस्थामा भेटिएको थियो।

२०८० असार ९ गते कैलालीको गोदावरी नगरपालिका–४ बसन्तपुरकी १८ बर्षीय अश्मी बोहरामाथि जबरजस्ती करणी भएपछि देहत्याग गर्न बाध्य भइन। अश्मी मृत्यु प्रकरण विषयमा अनुसन्धान गर्दै जाँदा उनी जबरजस्ती करणीमा परेर मृत्युको बाटो रोज्न पुगेको खुलेको हो। नेपालगंजमा रहेको अलाईट टेक्निकल कलेजमा अध्ययनरत अश्मिमाथि जबरजस्ती करणी भएको र कसैलाई भने ज्यान मार्ने धम्की दिएका कारण अश्मिले मानसिक तनाबमा आएर देहत्याग गरेको खुलेको छ।

प्रहरीले अश्मीको आत्महत्या दुरुत्साहन मुद्दामा मुगुको सेरु गाउँपालिका–३ का २१ बर्षीय डिलेन्द्र शाहीलाई पक्राउ गरिसकेको छ। शाही र अस्मिकी साथी लक्ष्मी खड्काका विरुद्ध किटानी परेको थियो। अश्मिलाई सोही कलेजमा पढ्ने लक्ष्मीको घरमा गएको बेला जबरजस्ती करणी भएको थियो। आफन्त नै बैरी अर्थात दुष्मन भएपछि कैलालीमा डेढ महिना अघि मात्र एक महिलालाई जबरजस्ती करणी गरेर हत्या नै गरिएको छ।

जिल्लाको लम्की चुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया मञ्जु रावलको हत्या भएको अवस्थामा आइतबार उनको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कुलदीप चन्दका अनुसार मञ्जुको हत्या ४० वर्षीया उनकै श्रीमानकी अर्की पत्नी (सौता) गोमा रावलले ‘कन्याक्ट किलर’ द्वारा गर्न लगाएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

मञ्जुको शव कैलालीको मोहन्याल गााउँपालिका–५ बाँसघारी सामुदायिक वनको सेतीखोर खोलाबाट करिब २ सय मिटर पश्चिमतर्फको खोल्सामा ढुङ्गामुनि च्यापेर राखेको अवस्थामा फेला परेको हो। कंकालहरु वरपर छरिएर रहेको अवस्थामा फेला परेको हो। हड्डीसँगै बेरिएर रहेको कपडाको आधारमा मञ्जुका छोराले आमाको सनाखत गरेका हुन्। हत्यामा संलग्नताको आरोपमा पक्राउ परेकी सरिता रावलको बयानका आधारमा मञ्जुको शव भेटिएको हो।

डेढ महिनाअघि जेठ २५ गते वकिललाई भेट्न भनेर भल्कास्थित घरबाट निस्किएकी मञ्जु नफर्किएपछि असार १ गते आमाको खोजी कार्यका लागि उनका छोरा विवेकले इलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिएका थिए। गोमाले मञ्जुको हत्या गर्न लम्कीचुहा–४ भल्काकै वर्षा रावल, भरत रावल, अछाम पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ३७ वर्षीया सरिता रावलद्वारा हत्या गराएको खुलेको छ। घटनापछि गोमासहित उनीहरुलाई पक्राउ गरिएको छ।

हत्यामा संलग्न रहेको अनुमान गरिएका अन्य दुई जना भने फरार रहेको प्रहरीले जनाएको छ। मञ्जुको हत्या गर्न पैसाको प्रयोग गरिएको प्रहरीको प्रारम्भिक अनुमान छ। ‘गोमाले मञ्जुको हत्या गर्न पैसा दिएर गर्न लगाएको प्रारम्भिक जानकारी हुन आएको छ,’ प्रवक्ता चन्दले भने ‘कति पैसा दिइएको थियो, हत्याअघि बलात्कार भए नभएको लगायतका विषयमा अनुसन्धान जारी छ।’

१७ वर्षीय छोरा विवेक रावलले ’सौतेनी आमा’ले आफन्तहरुलाई पैसा दिएर हत्या गर्न लगाएको दाबी गरे। मञ्जुका १७ वर्षीय छोरा र ९ वर्षीया छोरी छन्। श्रीमान जनक रावलको अढाई वर्षअघि मृत्यु भइसकेको छ। मञ्जु जनककी कान्छी श्रीमती हुन्। जेठी श्रीमतीबाट दुई छोरी छन्। श्रीमानको मृत्युपछि १० कट्ठा जग्गाका लागि गोमाले मञ्जुको हत्या गर्न लगाएको खुलेको छ। तर मञ्चुको हत्याअघि जबरजस्ती करणी भएको विषय समेत बाहिर आएको छ।

कमेन्ट लोड गर्नुस