राजनेताको खडेरी परेको मेरो देश
रीना भट्टः कुन र कस्ता राजनेताको खाँचो नेपालमा भन्ने प्रश्न सबैभन्दा महत्वपूर्ण र सबैको मन मस्तिष्कमा भएको देखिएको छ। आज सबै नेपाली जनताले राजनेताको खाँचो महसुस गरिरहँदा राजनेता बन्न लालायित नेतृत्व तहमा रहेका मान्छे मात्र नभएर नेतृत्वभन्दा बाहिर रहेर पनि बैकल्पिक शक्ति बन्न लालायित मान्छेहरू आफूलाई छिमेकी राष्ट्र भारतको राजधानी दिल्लीको मुख्यमन्त्री अरबिन्द केजरीवालको जस्तै बैकल्पिक शक्तिबाट उदाएको राजनेता बन्ने सपना देख्नेहरू यहाँ च्याउ झै उम्रेका पनि हाम्रै आँखाले देखिरहेका छौँ।
यति मात्र कहाँ हो र हामी नेपालीको आँखाले कहिले पत्रकारलाई राजनेता देख्ने, कहिले कलाकारलाई राजनेता देख्ने, कहिले कर्मचारीलाई राजनेता देख्ने, कहिले सडकमा सरकारको विरोध गर्दै चर्को स्वरले नाराबाजी गर्दै हिड्नेलाई राजनेता देख्ने बानी परिसकेको छ। यहाँ सच्चा राजनेता केबल एउटा गुणमा मात्र परिभाषित छ, जसको कारण पटक–पटक व्यवस्था परिवर्तन हुँदा पनि एउटै गुणको आधारमा मान्छेलाई राजनेता देख्ने हामी नेपालीको दृष्टिले आज पटकपटक हामी राजनेताको नाममा ठगिएका हौ र उनीहरूको अकर्मण्यताबाट शासित हुन बाध्य छौँ।
अब प्रश्न आउँछ कस्तो व्यक्तिलाई राजनेता भन्ने? नेपाली राजनीतिको पृष्ठभूमिमा देखिएका मध्ये कसलाई र कुन आधारमा राजनेता भन्ने? राजनीति सिद्धान्तले, विश्वको इतिहासले, वर्तमान विश्वमा सफल र जनताको मन मस्तिष्कमा बस्न सकेका नेतृत्वको जीवनले राजनेता कस्तो हुनुपर्छ भन्ने हामीले बुझ्नुपर्छ।
नेतृत्व गर्दै गर्दा जो जनहित मार्फत जनताको मन मस्तिष्कमा बस्न सफल हुन्छ ऊ नै राजनेता हो भन्ने बुझ्नुपर्छ। तर नेपालले गणतन्त्र पश्चात राम्रो राजनेता प्राप्त गर्न सकेकै छैन। वर्तमान समयमा आएका नयाँ नेता र स्थानिय नेतामा पनि खासै भविष्यमा राजनेताको आशा राख्न सकिने क्षमतावान नेतृत्व अझै भेट्टाउन सकिएको छैन।
राजनेता बन्न सक्ने नेतृत्वभित्र यी बिशेषता हुन्छ
नेतृत्व मानिसको व्यक्तिगत शक्ति हो। यो पदीय शक्ति होइन। पदीय शक्तिले राजनेता होइन तानाशाह जन्माउँछ। तर व्यक्तिगत शक्तिबाट बनेको नेतृत्व जहिले पनि सफल हुन्छ। महात्मा गान्धी, माओत्सेतुङ, नेलसन मण्डेला, बिपी कोइराला र मदन भण्डारी व्यक्तिगत शक्तिले राजनेता बनेका हुन् भने किम जोङ, राहुल गान्धी लगायत व्यक्ति पदीय शक्तिले नेतृत्व बनेका हुन्। प्रभाव ब्यापक हुन्छ. राम्रो काम र बिचारबाट राम्रो प्रभाव हुन्छ भने पदीय दबाबबाट पनि प्रभाब हुन्छ।
तर पदीय दबाबको प्रभाव निरङ्कुश वा तानाशाही हुन्छ भने बिचार र जनहितको प्रभावले नेतृत्वलाई हृदयले मान्छन् जसबाट राजनेता पैदा हुन्छ। अगाडि बढ्दै जानु राजनेता बन्ने क्षमता भएको व्यक्तिको संगठनको प्रगतिमा बृद्धि हुँदै जान्छ। जस्तोसुकै परिस्थितिमा पनि संगठनको काम रोकिँदैन भने त्यो नेतृत्वमा राजनेता हुने क्षमता छ भन्ने बुझ्नुपर्छ। सामानताको भावनाः नेतृत्व त्यो हो जसले कहिले पनि आफूलाई नेता र अरूलाई कार्यकर्ता सम्झन्दैन।
चेला, चपाटा, फ्लोअर बढाउने, आफ्नो आफैले प्रसंसा गर्ने नेतृत्व कहिले पनि राजनेता बन्न सक्दैन। राजनेता त्यो हो जसले आफ्नो फाईदा हेर्दैन केबल देश र जनता तथा समाज र समुदायको हित हेर्छ। उसले कसैलाई गाली गर्दैन र दुश्मनी पनि गर्दैन। सबैप्रति समानताको भावना हृदयमा राख्दै आफू मात्र नेतृत्व होइन आफू जस्तै अन्य लिडर जन्माउने क्षमता राख्छ।
अर्थात् लिडिङ लिडरलाई लिड गर्न सक्ने क्षमतावान व्यक्ति नै बास्तबिक राजनेता हो, जसको कारण उसको संगठनमा मानिस निःस्वार्थ लाग्दै संगठनको उद्देश्यलाई आफ्नो उद्देश्य सम्झेर दिलो ज्यान दिएर लाग्छन्। जसको कारण अन्य व्यक्ति पनि सक्षम नेतृत्व बन्न सक्छ र संगठन हुँदै राष्ट्र हाँक्न सक्ने क्षमतावान नेतृत्व जन्मिन्छ। जुन नेतृत्वले समाज र समुदायको उद्देश्यलाई आफ्नो उद्देश्य बनाउन जनतालाई प्रेरित गर्छ। त्यस्तो नेतृत्वको पछाडि जीवनभर मान्छे मुटु दिएर लाग्छन् भने त्यो नै भबिष्यको राजनेता हो भन्ने बुझ्नुपर्छ।
राजनेता व्यक्तिको संगठनमा आजीवन एउटै मान्छे साथमा हुन्छन्। त्यहाँ गुटबन्दी हुदैन। त्यहाँ आफ्नोपन हुन्छ, जसको कारण संगठन झनझन सुदृढ र मजबुत बन्दै अगाडि बढ्छ भने त्यस्तो संगठनको नेतृत्व गर्ने नै बास्तबिक राजनेता हो भन्ने बुझ्नुपर्छ। नेपालमा बिपी कोइराला जस्तो राजनेताको नेतृत्वमा नेपाली काँग्रेस एकढिक्का भएर उनको समयसम्म अगाडि बढ्दै गयो। भलै आज नेपाली काँग्रेस टुटफुट भएर गुटबन्दी हुँदै आजको दिनसम्म आउँदै गर्दा नेपालको एक सफल राष्ट्रिय पार्टी बन्न सकेको छ।
अर्कोतिर मदन भण्डारीको नेतृत्वमा नेकपा एमाले पार्टी पनि उनको जीवन अबधिसम्म एकढिक्का हुँदै बहुदलीय जनवादको सिद्धान्तलाई आजसम्म मान्दै एक सफल नेकपा एमालेको स्थानमा छ। तसर्थः यी दुवै नेतृत्व राजनेता हुन्। जसले आफ्नो जीवन कालभरि एउटा संगठनलाई एकीकृत गरी उच्च तहमा पुर्याउने काम गरे। जसको कारण यी नेतृत्वहरू नेपालको राजनेताको श्रेणीमा आउछन्।
यति मात्र होइन राजनेतामा यी गुण पनि हुन्छन
१. संगठनमा एकता कायम गर्न सक्ने क्षमता।
२. आफ्नो अनुयायीको भावनालाई बुझ्न सक्ने र संगठनमा प्रजातान्त्रिक पद्धति अनुसरण गर्न सक्ने क्षमता।
३. सम्बन्धित बिषयमा बिज्ञहरूको सल्लाह बमोजिम निर्णय गर्न सक्ने क्षमता।
४. उचित स्थान मा उचित मान्छे चयन गर्न सक्ने क्षमता।
५. कामको उचित मुल्यांकन गर्न सक्ने क्षमता।
६. जनभावना अनुसार आफ्नो व्यवहारमा परिबर्तन गर्न सक्ने क्षमता।
७. अरूको निन्दा नगरी केबल आफ्नो गल्ती केलाउन सक्ने क्षमता।
८. अपमानलाई सहन सक्ने क्षमता।
९. परिस्थिति अनुरूप बिचारमा लचकता।
१०. अरूको भाबना बुझ्दै उनीहरूको निर्णय र सुझाव ग्रहण गर्न सक्ने क्षमता।
११. अन्तर्राष्ट्रिय सम्बन्ध र अन्तर्राष्ट्रिय राजनीतिको जानकारी मार्फत कुटनीति मर्यादा कायम गर्दै राष्ट्रिय शक्तिमा बृद्धि गर्दै वैदेशिक सम्बन्धलाई असंलग्नताको आधारमा अगाडि बढाउन सक्ने क्षमता।
१२. चाहे जतिसुकै ठूलो पद होस, जतिसुकै डिग्री हासिल गरोस् तर बोल्नमा सिष्टाचार र मानवता नभएको मान्छे राज नेता होइन।
१३. भाषण कला र बिषयलाई बुझाउन सक्ने क्षमता। (नेपालमा आज यही एउटा गुणको आधारमा नेतृत्वलाई राजनेता देख्ने बानी छ)
तर यहाँ नेतृत्वमा भाषण कलामा क्षमता हुँदाहुँदै सरल भाषा प्रयोगलाई हेला गर्दै राजनीति बिषयमा साहित्यिक भाषा र घुमाउरो तथा अफ्ठ्यारो शब्दको प्रयोग मार्फत नेपाली जनतालाई बताईएका गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र लोकतान्त्रिक पद्धतिले जनताको मन मस्तिष्कमा घर बनाउन सकेन। यी बिषयलाई नेपाली जनतालाई बुझाउन नसक्दा आज नेपाली नेतृत्व राजनेता बन्नबाट पछि परे। जसले राजनीति सिद्धान्तको साधारण जानकारी समेत प्रष्ट रूपमा सर्वसाधारण नेपालीलाई बुझाउन समेत क्षमता राखेनन् राजनेता बन्नु त उनीहरूको लागि धेरै टाढाको कुरा भयो।
यति मात्र होइन यी बिषयहरू बुझाउन नसक्दा यो व्यवस्थाकै भविष्य नै कमजोर पनि देखिन थाल्यो। तसर्थः राजनेतामा भाषण कला मात्र होइन भाषणभित्र रहेको गुदि कुरा बुझाउन सक्ने क्षमता नि हुनुपर्छ। यसरी यी गुणहरूले युक्त व्यक्ति यदि कुनै नेतृत्व छ भने त्यो नेतृत्व नै राजनेता हो जसले सञ्चालन गरेको राज्य नै एक लोकतान्त्रिक मुल्य र मान्यता बोकेको प्रगतिको पथमा अग्रसर राष्ट्र बन्छ। यी सम्पूर्ण गुणहरू भएका व्यक्तिलाई मात्र राजनेता देखौ सबैलाई राजनेता हामी नदेखौँ। राजनेता पहिचान गर्न नेतृत्वमा यी सम्पूर्ण गुणहरूलाई आजैबाट केलाएर मुल्याङ्कन गरौँ र २०८४ राजनेतालाई नै चुनौ। (रीना भट्ट, लेक्चरर त्रिभुवन विश्वविद्यालय पाटन क्याम्पस राजनीति शास्त्र)