सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको आन्तरिक आम्दानी बढ्यो, कुन शिर्षकबाट कति आम्दानी?

२०८० साउन १४, ११:५२ कमल सावद

धनगढीः सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीको आन्तरिक आम्दानी बढेको छ। अघिल्ला दुई आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा उपमहानगरपालिकाको आन्तरिक आम्दानीमा वृद्धि भएको हो। उपमहानगरले विभिन्न २३ वटा शिर्षकमा आन्तरिक कर संकलन गर्दै आएको छ। धनगढी उपमहानगरपालिकाले गत आर्थिक वर्षमा २७ करोड ८६ लाख २२ हजार पाँच सय ९६ रुपैयाँ आन्तरिक स्रोतबाट आम्दानी गरेको छ।

आर्थिक वर्ष २०७८/७९ मा २२ करोड १८ लाख २९ हजार एक सय ८१ रुपैयाँ कर संकलन भएको थियो। अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्ष २०७९/८० मा पाँच करोड ६७ लाख ९३ हजार चार सय १४ रुपैयाँ बढी आम्दानी भएको हो। उपमहानगरपालिकाको तथ्याँक अनुसार आर्थिक वर्ष २०७७/७८ मा २० करोड ६७ हजार सात सय ७६ रुपैयाँ आन्तरिक स्रोतबाट आम्दानी भएको थियो। धनगढी उपमहानगरपालिकाले प्रत्येक आर्थिक वर्षमा आन्तरिक स्रोतको रकम वृद्धि गर्दै आएको छ।

उपमहानगरपालिकाले गत आर्थिक वर्षमा सबैभन्दा बढी ठेक्काबाट पाँच करोड ७२ लाख ९६ हजार आठ सय ३५ तथा नक्सा पास दस्तुरबाट दुई करोड ८९ लाख ७५ हजार दुई सय ४९ रुपैयाँ संकलन भएको छ। सम्पति करबाट गत आर्थिक वर्षमा चार करोड आठ लाख २५ हजार दुई सय ३७ रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा सम्पति करबाट तीन करोड ९५ लाख ४५ हजार नौ सय छ रुपैयाँ संकलन भएको थियो।

धनगढीले भूमि कर शिर्षकमा गत आर्थिक वर्षमा ९७ हजार दुई सय २९ रुपैयाँ संकलन गरेको छ। आर्थिक वर्ष २०७८/७९ मा भूमि कर शिर्षकमा कर संकलन भएको थिएन। बाहल कर शिर्षकमा पाँच करोड ८६ लाख ५१ हजार दुई सय २७ रुपैयाँ संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षमा बहाल कर शिर्षकमा तीन करोड ८१ लाख ३२ हजार छ सय ५१ रुपैयाँ संकलन भएको थियो।

गत आर्थिक वर्षमा सवारी करबाट १० लाख ४७ हजार तीन सय ५०, अन्य कर शिर्षकमा ५४ लाख ९१ हजार सात सय ६५, सरकारी सम्पति बहाल करबाट ८७ लाख ७९ हजार ९२ रुपैयाँ र सरकारी सम्पति बिक्रीबाट एक लाख ४७ हजार चार सय ९१ रुपैयाँ संकलन भएको छ। यस्तै, अन्य सेवा शुल्क बिक्रीबाट ४० लाख ९८ हजार तीन सय ३६, शिक्षा क्षेत्रको आम्दानीबाट १६ लाख ७३ हजार तीन सय ५०, पार्किङ्ग शुल्कबाट ६२ लाख ५० हजार चार सय पाँच, सिफारिस दस्तुरबाट दुई करोड १७ लाख ३७ हजार एक सय ९७, व्यक्ति घटनाबाट १४ लाख २१ हजार नौ सय ४०, नाता प्रमाणितबाट चार लाख ८३ हजार छ सय ४० र अन्यबाट ३३ लाख ८६ हजार सात सय २५ रुपैयाँ संकलन भएको छ।

न्यायिक दण्ड जरिमाना शिर्षकमा तीन हजार चार सय, प्रशासनिक दण्ड जरिबानाबाट ११ लाख २३ हजार नौ सय २३, व्यवसायबाट तीन करोड ६३ लाख ६६ हजार छ सय ४५, बेरुजुबाट १२ हजार सात सय ७१ र सामुदायिक वनबाट ५० हजार ५ सय सात रुपैयाँ आम्दानी भएको छ। धनगढी उपमहानगरपालिकाले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा सबै शिर्षको रकम वृद्धि भएको छ। तर कृषि तथा वन्यजन्तु वस्तुको व्यावसायिक कारोवारबाट कर संकलन भएको छैन। उपमहानगरपालिकाको नगर सभाबाट पारित आर्थिक ऐन अनुसार कर संकलन हुँदै आएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस