सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको बित्थडचिर घटनाको यस्तो छ नालीबेली

२०८० साउन १३, ०१:५२ नारायण अवस्थी

धनगढीः बिहीबार दिउँसो बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर ७ मा स्यालढुङ्गाका पुट्के ओखेडाको निर्माणाधीन घर भत्काइयो। वडा नम्बर ७ कै धामीगाउँका कृष्ण जोशी र गणेश जोशीका बुवाहरूले पनि करिब २० वर्ष अगाडि सोही ठाउँमा घर बनाउँदा स्थानीयले भत्काएका थिए। सार्वजनिक गौचरनमा घर बनाएको भन्दै केही गाउँलेहरूले घर भत्काएको स्थानीय मुकुन्द जोशीले बताए।

विभिन्न मिडिया र सामाजिक सञ्जालमा भनेजस्तो जातीय विभेदसँग घटनालाई जोड्न नहुने पुट्के ओखेडाका भतिजा कृष्ण ओखेडा बताउँछन्। सार्वजनिक जग्गामा घर र खेत बनाएको भन्दै ३२ परिवार गैरदलित र दलितसहित गएर घर भत्काउनु र खेतीपाती फाड्नु भने गलत भएको कृष्ण ओखेडाको भनाइ छ।
दलितले ब्राह्मण बस्तीमा घर बनाएका हुन?
स्यालढुङ्गामा दुई जना दलितको मात्रै घर छ। करिब २०/२५ वर्ष अगाडि बित्थडचिर गाउँपालिकाको वडा नम्बर ६ को दल्लीबाट पुट्के ओखेडाको परिवार स्यालढुङ्गामा बस्न आएको स्थानीय मुकुन्द जोशीको भनाइ छ। यो विषयको पुष्टि वडा अध्यक्ष दिपक अधिकारीले पनि गरेका छन्। स्यालढुङ्गाबाट करिब २ किलोमीटरको दुरीमा मात्रै गैरदलितहरूको बस्ती छ। धामीगाउँ, सुवाकोट र लगुणासा गैरदलितका बस्ती हुन्।

सुवाकोटमा दलित र गैरदलितको बस्ती नजिकै रहेको छ। स्यालढुङ्गाभन्दा करिब ५ सय मिटरको दुरीमा रहेको चौडीखोलामा चार परिवार विश्वकर्मा र त्यति नै दुरीमा रहेको सालिधारमा पनि चार परिवार विश्वकर्माका छन्। करिब दुई किलोमीटर टाढा रहेको गैरदलित बस्तीलाई स्यालढुङ्गामा कसरी ल्याइयो भनेर अचम्म लागेको स्थानीयले बताएका छन्।
वडामा स्थानीयले उजुरी गरेका थिए
पुट्के ओखेडाले सार्वजनिक जग्गामा घर बनाउन लाग्दा धामी गाउँ, सालिधार र चौडीखोलाका स्थानीय ३२ परिवारले वडा कार्यालयमा पुट्के ओखेडा र कृष्ण ओखेडा विरुद्ध उजुरी गरेका थिए। वडामा निवेदन दिएको मुकुन्द जोशीले बताएका छन् भने निवेदन आएको पुष्टि वडा नम्बर ७ का अध्यक्ष दिनेश  अधिकारीले गरेका छन्। स्थानीयको निवेदन उपर कारबाही गर्न र जग्गा छुट्याउन पालिकामा अमिन नहुँदा तात्कालका लागि घर नबनाउने कुरामा दुबै पक्ष सहमत भएको वडा अध्यक्ष अधिकारीले बताए।

उनले थप कानूनी प्रक्रिया सरकरी तहबाट अगाडि नबढ्दै स्थानीयले घर भत्काउनु र लगाएको खेतीपाती नास गर्नु गलत देखिएको बताएका छन्। पुट्के ओखेडा र कृष्ण ओखेडाले करिब दुई रोपनी जग्गा अतिक्रमण गरेको स्थानीयले बताएका छन् भने वडा कार्यालयले जग्गा नम्बरी या सार्वजनिक के हो भन्ने विषय नापजाँचपछि मात्रै भन्न सकिने बताएका छन्। यता पुट्के ओखेडाका भतिजा कृष्णले आफूले अतिक्रमण गरेको जग्गा छोडे पनि काकाले भने नछोडेको बताएका छन्।

सार्वजनिक गौचरन जग्गा नछोडेको र वडा कार्यालयमा गरिएको सहमति विपरीत घर बनाउन थापेपछि स्थानीयले गएर घर भत्काएको र ऐलानी भनिएको जग्गामा लगाइएको मकै भटमास नष्ट गरिएको हो। कानूनअनुसार जग्गा खाली हुनुपर्नेमा व्यक्तिहरूले घर भत्काउनु र बाली नास गर्नु गलत भए पनि यो घटनालाई जातीय दुर्व्यवहार भन्न नमिल्ने कृष्ण ओखेडाले बताए।
पुट्के ओखेडा सुकुम्बासी हुन?
पुट्के ओखेडा र कृष्ण ओखेडाको स्यालढुङ्गा जग्गा नम्बरी जग्गा छ। नम्बरी जग्गामा पुट्के ओखेडाको घर छ भने कृष्ण वडा नम्बर ५ दल्लीबाट आएर खेतीपाती गर्छन्। ओखेडाको परिवार सुकुम्बासी नभएको वडा अध्यक्ष दिपक अधिकारीले बताए। तर, स्थानीयले सार्वजनिक जग्गामा बनाउन लागिएको घर भत्काउने कार्य गलत भएको वडा अध्यक्ष  अधिकारी बताउँछन्। उनले घटनालाई जातीय रङ्ग दिन खोज्नु पनि गलत रहेको बताए।

निर्माणाधीन घर भत्काइएपछि पुट्के ओखेडाको निवेदनका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न भएको भन्दै धामीगाउँका कृष्ण जोशी, भवानी जोशी र नन्दलाल जोशीलाई पक्राउ गरिएको छ। पीडित पुड्के ओखेडाले भने आफूले व्यक्तिगत लालपुर्जा भएको जमिनमै घर बनाएको भन्दै निर्माणाधीन घर भत्काउनेहरूविरुद्ध प्रहरीमा उजुरी दिएका हुन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस