सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका तीनवटा फर्मलाई कारबाही

२०८० साउन १३, ११:४१ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीका तीन वटा फर्मलाई कारबाही गरीएको छ। जिल्लाको धनगढी उपमहानगरपालिकाको नेतृत्वमा गरिएको बजार अनुगमन टोलीले शुक्रवार अनुगमनका क्रममा विभिन्न तीन वटा व्यापारिक फर्मलाई जरिबाना गराएको हो।

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरास्थित नम्रता ट्रेड लिंकबाट टोलीले म्याद गुज्रेको पेन्ट ९कलर० फेला पारेको छ। उक्त फर्मलाई पहिलोपटकका लागि न्युनतम एक हजार रुपैयाँ जरिबाना गराएर छोडिएको छ। त्यस्तै सोही ठाउँको न्यू केदारनाथ हार्डवयरलाई पनि एक हजार जरिबाना गरिएको छ। जहाँ टोलीले म्याद सकिएको पेन्ट फेला पार्नुका साथै आफै एमआरपी मूल्य सच्याएर लेखेको भेटाएको थियो। मनेहराकै न्यू देवकी जनरल स्टोरलाई पनि दर्ता नगरी किराना पसलमा मदिरा बिक्री वितरण गरेको भन्दै एक हजार रुपैयाँ जरिबाना गरिएको छ।

नियम विपरीत कार्य गर्ने व्यापारिक फर्मलाई पहिलो पटकका लागि एक हजार रुपैयाँ जरिबाना गराएर सम्झाई बुझाई गरेर छोडिएको उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण शाखा प्रमुख नारायणप्रसाद शर्माले बताए। अर्कोपटक पनि सोही गल्ती भेटिए कानून अनुसार थप कारबाही गरिने उनले बताए। अनुगमन टोलीले शुक्रवार विभिन्न २० वटा व्यापारिक फर्ममा अनुगमन गरेको थियो।

टोलीले व्युटीपार्लर, हार्डवयर, होटल, किराना पसललगायतमा अनुगमन गरेको  हो। उपमहानगरको उपभोक्ता हित संरक्षण शाखाको नेतृत्वको बजार अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, बाणिज्य कार्यालय, पत्रकार, सुरक्षाकर्मीलगायतको सहभागिता थियो। 

कमेन्ट लोड गर्नुस