महाकाली नदीमा व्यावसायिक र्याप्टिङ सुरु
कञ्चनपुर: कञ्चनपुरस्थित महाकाली नदीमा व्यावसायिक रूपमा र्याप्टिङ सेवा सुरु गरिएको छ। भीमदत्त नगरपालिका–९ खल्ला मुसेट्टी क्षेत्रमा सोमबारदेखि पाँचवटा र्याप्टिङ बोटमार्फत सेवा सञ्चालनमा ल्याइएको हो।
गैरसरकारी संस्था निड्स नेपालको पहलमा भीमदत्त नगरपालिका, नेपाल पर्यटन बोर्डलगायत निकायको सहकार्यमा यो जलयात्रा नियमित रूपमा सञ्चालन हुने गरी सुरु गरिएको हो।
महाकाली नदी सीमा नदीका रूपमा परिचित भए पनि यस क्षेत्रमा यसअघि नेपाली पक्षबाट र्याप्टिङको व्यावसायिक सञ्चालन हुन सकेको थिएन। २०७७ सालदेखि विभिन्न संघसंस्था र स्थानीय तहले प्रयास गर्दै आए पनि विगतमा परीक्षणमै सीमित रहेको र्याप्टिङ यसपटकदेखि औपचारिक रूपमा व्यवसायिक रूपमा सुरु गरिएको र्याप्टिङ गाइड भाटले बताए।
उनका अनुसार वर्षायाम सुरु नभएसम्म नियमित रूपमा र्याप्टिङ सञ्चालन गरिनेछ। स्थानीय युवाहरूले गाइड तालिम लिएर यस क्षेत्रमा सक्रिय सहभागिता जनाएका छन् भने उनीहरू विभिन्न स्थानमा अभ्याससमेत गरिसकेका छन्।
सोमबार आयोजित उद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य नरेन्द्रदेव भट्ट, भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटी, दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बुलगायत जनप्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति रहेको थियो। उद्घाटनकै दिन एक दर्जनभन्दा बढी र्याप्टिङ प्याकेज बिक्री भएको जनाइएको छ।
मुसेट्टीदेखि खल्लासम्म करिब ३ किलोमिटर दूरीमा सञ्चालन हुने र्याप्टिङका लागि १५ मिनेटदेखि आधा घण्टासम्म समय लाग्नेछ। यस मार्गमा रोमाञ्चक जलप्रवाहदेखि शान्त नदी दृश्यसम्म अनुभव गर्न सकिनेछ।