सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा भारतीय मुद्राको अवमूल्यन, पेट्रोल पम्पमा भारु नलिने नोटिस

२०८० साउन १२, ०१:५३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा भारतीय मुद्राको अवमुल्ययन बढेको छ। प्रदेशका मुख्य बजार क्षेत्रमा भारतीय मुद्राको कारोबार ठप्प जस्तै भएको छ। कैलालीको धनगढी, अत्तरिया, टीकापुर तथा कञ्चनपुरको महेन्द्रनगरदेखि पहाडी जिल्लासम्मै भारतीय रुपैयाँको कारोबार हुन छोडेको हो। भारतीय नोट व्यवसायीहरुले लिन छोडेपछि भारु नोट भएकाहरु समस्यामा परेका छन्।

यहाँका केही पेट्रोल पम्पहरुले त भारतीय कुनै पनि दरका नोट नलिने भन्दै नोटिस (सूचना) नै जारी गरेका छन्। पेट्रोल पम्प अगाडी सूचना नै टाँस गरेर भारतीय रुपैयाँ नलिने तथा नेपाली रुपैयाँ मात्र चल्ने उल्लेख गरेपछि भारतीय रुपैयाँ साट्न पसल–पसल धाउने बढेका छन्। भारतीय एक सयको नेपाली एक सय ६० विनिमय दर हो। तर एक सय भारु दिँदा एक सय ५० नेपाली पाउन समेत मुश्किल भएपछि भारतीय रुपैयाँको अवमुल्ययन बढेको हो।

सुदूरपश्चिममा भारु नोट सटहीमा समस्या देखिएको छ। भारु दुई हजारका नोट फिर्ता लिने भारत सरकारको निर्णयलगत्तै सटहीमा समस्या देखिन थालेको हो। भारतको केन्द्रीय बैंकले भारु दुई हजारका नोट फिर्ता लिने घोषणासँगै यहाँका सीमावर्ती नेपाली बजारमा साना दरका भारु नोटको प्रचलनसमेत ह्वात्तै घटेको छ भने यातायात तथा पेट्रोलियम व्यवसायीले भारु नोटमा भुक्तानी लिन छाडेका छन्। व्यवसायीका अनुसार भारुको कारोबार हुन छाडेको र मनी एक्सचेञ्जरले पनि भारु साट्दा अतिरिक्त कमिसन असुल्न थालेको आरोप छ।

भारु एक लाख सटही गर्दा चार हजार कमिसनसम्म लिने गरेको गुनासो छ। यहाँका स्थानीय पेट्रोल पम्पमा पनि भारु नोटमा भुक्तानी नलिइने सूचना टाँसिएको छ। भारतबाट लुकीछिपी ठूलो मात्रामा भारुका नोट नेपाल भित्रिएको र नेपाली बजार चर्को आर्थिक मन्दीको मारमा रहेको कारण बिक्री घट्दा बजारमा भारुको सटहीमा समस्या उत्पन्न भएको सटहीको अनुमति प्राप्त मनी एक्सचेन्जर व्यवसायी बताउँछन्। भारु बेच्ने धेरै भए, किन्ने नहुँदा समस्या देखिएको कतिपयको तर्क छ।

भारु नोट सटहीमा कठिनाइ हुँदा भारतमा रोजगार गरेर फर्कने नेपाली सीमा क्षेत्रमा सकसमा परेका छन्। भारतको नयाँ दिल्ली, मुम्बई, बैङ्लोर, सिलगुडी, सिक्किम, मेघालय, कोलकाता, केरला र चेन्नईमा रोजगारी गर्ने नेपाली सीमा नाका भएर स्वदेश फर्किने गर्छन्। नेपाल राष्ट्र बैंकले भारतीय सय रुपैयाँबराबरको नेपाली एक सय ६० रुपैयाँ खरिद–बिक्री दर तोकेको छ।

तर, पछिल्लो समय भारतीय सीमानाका गौरीफन्टा बजारमा एक सय ५७ रुपैयाँमा पनि भारतीय मुद्रा बिक्री हुन नसकेको व्यवसायी बताउँछन्। पछिल्लो केही समयदेखि बजारमा भारतीय मुद्रा प्रशस्त भेटिन थालेको छ। मनी चेन्जरहरूमा पनि नेपालीभन्दा भारतीय मुद्रा बढी हुँदा भारतीय मुद्राभन्दा नेपाली नोट बलियो बनेको कतिपयको तर्क छ। भारतीय मुद्रा खरिद गर्नेभन्दा बिक्री गर्ने बढी देखिएका छन्।

कमेन्ट लोड गर्नुस