सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ‘लम्पी स्किन’को प्रकोप झनझन फैलिँदै, सरकारी प्रयास शून्य

२०८० साउन ७, ०६:५७ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिममा तीन वर्षदेखि फाट्टफुट्ट देखा पर्दै आएको लम्पी स्किन रोगले यो वर्ष महामारीको रूप लिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर मदनसिंह धामीले बताएका छन्। सुदूरपश्चिममा तीन वर्षदेखि लम्पी स्किन रोग देखा पर्दै आएको थियो। यो वर्ष यसले महामारीको रुप लियो’, उनले भने, ‘रोग नियन्त्रणका लागि उपचारका लागि स्थानीय तहहरूलाई प्रदेशबाट सहयोग भइरहेको छ।’

पोक्स भाइरसको संक्रमणबाट हुने लम्पी स्किनबाट सबैभन्दा बढी कैलालीमा दुई लाख ३३ हजार पाँच सय पशुचौपाया संक्रमित हुँदा ६५७ पशुचौपाया मरेको तथ्याङ्क छ। त्यस्तै बझाङमा एक लाख ६१ हजार ७९५ पशुचौपायामा लम्पी स्किन पुष्टि भएको छ। बझाङमा चार हजार ६२३ पशुचौपाया मरेका छन्। लम्पी स्किनका कारण बैतडीमा ११ हजार १८ चौपाया मरेका छन्।

लम्पी स्किनको उपचारका लागि औषधीसँगै तीनै तहको सरकारले खोप व्यवस्थापन गर्नुपर्ने प्रदेश सचिव धामीले बताए। उनले सरकरी तहबाट लम्पी स्किनको खोप ल्याउने काम नभएको तर निजी कम्पनीहरूलाई खोप ल्याउन संघीय सरकारले अनुमति दिएको बताए। तीन महिनामा बाजुरामा ४३ हजार ३९ पशुचौपायामा संक्रमण हुँदा ७५३ पशुचौपाया मरेका छन्।

यस्तै, डोटीमा ३८ हजार ६७३ पशुमा लम्पि स्किन पुष्टि हुँदा ३ हजार ६७९ चौपाया मरेका छन्। डडेल्धुरामा ३३ हजार २४३ पशुमा लम्पी स्किन हुँदा २ हजार ३९६ मरेका छन्। यसैगरी, अछाममा ३२ हजार ५७७ चौपाया संक्रमित हुँदा एक हजार ६७८ मरेका छन्। हिमाली जिल्ला दार्चुलामा २९ हजार ३३० पशु संक्रमित भएकामा एक हजार १६९ पशु मरेका छन्। कञ्चनपुरमा ७०२ पशुमा लम्पी स्किन भएकोमा १८ चौपाया मरेका छन्। पशुचौपायामा लम्पी स्किन संक्रमणको अवधि ४ देखि १४ दिनसम्मको हुन्छ।

लम्पी स्किन लाग्नु अगावै खोप लगाउनु प्रभावकारी हुने भए पनि संक्रमण भएपछि मृत्यु कम गर्न औषधि उपचार गर्नुपर्छ। नेपालमा खोपको उपलब्धता पर्याप्त छैन। राजनीतिक नेतृत्वसँग छलफल गरेर रोग नियन्त्रणका उपाय अवलम्बन गरिने प्रदेश सचिव धामीले बताए। लम्पी स्किन रोग लागेका गाई/भैँसीमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्रि तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दूध उत्पादन घट्नेलगायत लक्षण देखिन्छन्।

खोपबाट संक्रमण रोक्न सकिने र उपचारबाट क्षति कम गर्न सकिने भए पनि संघा, प्रदेश र स्थानीयहरू बिच समन्वय, सहकार्य रिपोर्टिङ र रेकर्डिङ हुन नसक्दा तीन महिनादेखि हरेक घरमा दैनिक पशु चौपाया मरिरहेका छन्। जसले सर्वसाधारणलाई ठूलो आर्थिक क्षति भइरहेको छ। लम्पी स्किनको रोकथाम र उपचार गर्न तीनै तहको सरकारबाट आवश्यक सहयोग नभएको किसानको गुनासो छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस