कैलालीको रातोपानी सामुदायिक वन फँडानीको छानबिन गर्न समिति गठन

धनगढीः कैलालीको रातोपानी सामुदायिक वन फँडानीको छानबिन गर्न समिति गठन गरिएको छ।
सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सामुदायिक वनमा भएको वन फँडानीबारे छानबिन गर्न समिति गठन गरेको हो । मन्त्रालयका अनुसार मन्त्रालयका उपसचिव भरतप्रसाद भट्टको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ। सामुदायिक वनका उपभोक्ताको लिखित उजुरी आएपछि मन्त्रालय आफैँले छानबिन थालेको हो।
उपभोक्ताको गुनासोपछि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र सचिव ढकालको टोलीले यसअघि रातोपानी सामुदायिक वनमा रूख कटान भएको क्षेत्रको निरीक्षणसमेत गरेको थियो। निरीक्षणका क्रममा मन्त्री धामीले छानबिन गरेर वन फँडानीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने बताएका थिए। वन फँडानी भएको देखिएको भन्दै फँडानी गर्ने जोसुकै भए पनि कारबाहीको दायरामा ल्याइने मन्त्री धामीले प्रतिबद्धता जनाएका थिए । पाँच सय हेक्टर क्षेत्रफलमा फैलिएको रातोपानी सामुदायिक वन चुरेसँग जोडिएको महत्वपूर्ण भावर क्षेत्र हो।
जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १२, स्थित चुरेसँग जोडिएको सामुदायिक वनमा तस्कर समूहले करिब दुई दर्जन रूख कटान गरेर काठ तस्करी गरेका छन। सामुदायिक वनका पदाधिकारीकै संलग्नतामा वन फँडानी भएको दाबी उपभोक्ताले गर्दै आएका छन्। वनमा सालका २२ वटा रूख कटान भएको पाइएको छ। रूख काटेर काठ तस्करीमा संलग्न भएको आरोपमा वन उपभोक्ता समूहको कार्यसमितिका दुईजना सदस्य पक्राउ परेका छन्। उपभोक्ता समितिका सदस्य टेकराज ओझा र कर्णबहादुर विकलाई पक्राउ गरेर वन मुद्दा चलाइएको सब वन डिभिजन कार्यालय अत्तरियाले जनाएको छ।
स्थानीय उपभोक्ताले सामुदायिक वनका अध्यक्षसहित पदाधिकारीको मिलेमतोमा वन फँडानी भएको आरोप लगाएका छन्। वन फँडानी भएको खबरपछि गएको टोलीले दुईजनालाई पक्राउ गर्नुका साथै दुई सय थान चिरान कडी र ५० वटा फ्रेमसमेत बरामद गरेको थियो।



