सुदूर नेपाललाई विश्वसँग जोड्दै

फडानी भएको रातोेपानी वनमा पुग्यो मन्त्री धामीको टोली

२०८० साउन ५, १०:०४

धनगढीः सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीसहित मन्त्रालयको टोलीले कैलालीको गोदावरी नगरपालिका–१२, स्थित रातोपानी सामुदायिक वनमा भएको वन फडानीको निरीक्षण गरेको छ। वन क्षेत्रमा व्यापकरुपमा रुख कटान गरी काठ तस्करी भएको उपभोक्ताले गुनासो गरेपछि मन्त्रालयका सचिव बेदकुमार ढकाललाई लिएर मन्त्री धामी अनुगमनमा गएका हुन्।

मन्त्रीसहितको टोलीले सामुदायिक वनत्रभित्र रुख कटान गरिएको केही क्षेत्रको निरीक्षण गरेको थियो। सामुदायिक वनभित्र सालका २२ वटा रुख कटान भएको पाइएको उपभोक्ताले बताएका छन्। सामुदायिक वनका पदाधिकारीको संलग्नतामा वन फडानी भएको उपभोक्ताको आरोप छ। 

वन फडानी भएको थाहा भएपछि यसअघि स्थानीय उपभोक्ताको टोलीले समेत वन क्षेत्रको अनुगमन गरेको थियो। अनुगमनका क्रममा सालका २२ वटा रुख कटान भएको आफूहरुले भेटेको उपभोक्ता बम मिजारले बताए। ‘रुख काटेर वनमै काठ चिरान गरेको देखियो । हामीले २२ वटा रुख काटेको फेला पा¥यौँ’ उनले भने, ‘वनभित्र अन्यत्र पनि रुख काटिएका होलान्।’

रुख काटेर काठ तस्करीमा संलग्न भएको आरोपमा उक्त वन उपभोक्ता समूहको कार्यसमितिका दुई जना सदस्य पक्राउ परेका छन्। उपभोक्ता समितिका सदस्य टेकराज ओझा र कर्णबहादुर बिकलाई पक्राउ गरेर वन मुद्दा चलाइएको सव वन डिभिजन कार्यालय अत्तरियाले जनाएको छ।

वन फडानी भएको खबरपछि गएको टोलीले दुई जनालाई पक्राउ गर्नुका साथै दुई सय थान चिरान कडी र ५० वटा फ्रेमसमेत बरामद गरेको सव वन डिभिजन कार्यालय अत्तरियाका प्रमुख निराजन कडालले जानकारी दिए। उनले वन फडानीमा सामुदायिक वनका पदाधिकारीसमेत संलग्न रहेको देखिएको बताएका छन्। 

वन क्षेत्रको निरीक्षण गरेका मन्त्री धामीले छानविन गरेर वन फडानीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने बताएका छन्। उनले वन फडानी भएको देखिएको भन्दै फडानी गर्ने जोसुकै भए पनि कारबाहीको दायरामा ल्याइने प्रतिवद्धता जनाए। ‘मन्त्रालयले यसको छानविन गर्छ। संलग्नलाई कारबाही गर्छौँ,’ उपभोक्तालाई उनले भने ।

 

फडानी भएको रातोेपानी वनमा पुग्यो मन्त्री धामीको टोली

कमेन्ट लोड गर्नुस