सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा वन फडानी तीव्र, अध्यक्षका भाइसहित दुई जना पक्राउ

२०८० असार २७, ०१:१० खबर संवाददाता

धनगढीः कैलालीको गोदावरी नगरपालिकाभित्र राष्ट्रिय तथा सामुदायिक वन फडानी तीव्र रुपमा बढ्दै गएको छ। चुरे क्षेत्रसँग जोडिएको गोदावरी नगरपालिका–१२ मा पर्ने रातो पानी सामुदायिक वनमा व्यापक फडानी भइरहेको हो। झण्डै एक सयको संख्यामा सालका हरिया र सुकेका रुख काटेर वनभित्रै चिरान गरेको तथ्य समेत फेला परेको छ।

सामुदायिक वनका अध्यक्ष कैलाश विक र वन कर्मचारीकै संलग्नतामा सो क्षेत्रमा वन फडानी बढेको स्थानीयको गुनासो छ। वन फडानीमा संलग्न दुई जनालाई स्थानीयले पक्राउ गरेर वन कार्यालयमा बुझाएका छन्।  सामुदायिक वनका अध्यक्ष कैलाश विकका भाई कर्णहादुर विक र स्थानीय टेकराज ओझा वन फडानीमा संलग्न रहेको भन्दै दुबै जनालाई पक्राउ गरिएको हो।

दुवै जना विरुद्ध वन मुद्दा दायर गर्ने तयारी भएको ईलाका वन कार्यालय अत्तरियाका अधिकृत निरञ्जन कडालले बताए। सो क्षेत्रमा एक सय ९० क्यूफिट काठ बरामद भएको उनले बताए। सो क्षेत्रमा ठुलो मात्रामा सालको रुख कटानी भएको हो। करिब ९० देखि एक सयको संख्यामा सालका रुख काटिएको उनले बताए। तस्करहरूले वनभित्रै चिरान गरेर सःमिलहरुमा काठ बेच्ने गरेको पाइएको छ।

रातो पानी सामुदायिक वन चूरे क्षेत्रको भावर हो। सो वनमा लामो समयदेखि भइरहेको वन फडानीका विषयमा स्थानीयले पटक–पटक वन कार्यालयमा जानकारी गराउँदै आए पनि कसैलाई कारवाही हुने गरेको थिएन्। त्यसपछि स्थानीय आफै वन संरक्षका लागि सक्रिय भएका हुन्। सो क्षेत्रमा वन फडानीसँगै संलग्नहरुले बँदेल, चित्तल लगायतका वन्यजन्तु समेत सिकार गर्ने गरेको पाइएको छ। सामुदायिक वनका अध्यक्ष कैलाश विककै संलग्नतामा चोरी तस्करी भइरहेको भन्दै उपभोक्ताले उनको राजीनामा समेत माग गरेका छन्।

कमेन्ट लोड गर्नुस