सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका दाना उद्योगीको प्रश्न–रिवन काटेर औद्योगिक क्रान्ती हुन्छ ?

२०७६ वैशाख ६, ०२:३४ नवराज पनेरु

सुदूरपश्चिमका दाना उद्योगीहरु अहिले पशु क्वारेन्टाइनको मनोमानीको मारमा परेका छन्। पशु क्वारेन्टाइनले २ सातादेखि कच्चा पदार्थको आयातमा रोक लगाएपछि कैलाली भन्सारमा १६ वटा ट्रक रोकिएका छन्। भन्सारमा रोकिएका कच्चा पदार्थ बोकेका गाडी तत्काल छोड्न उच्च अदालतले अन्तरिम आदेश दिएको छ तर पशु क्वारेन्टाइनले अदालतको आदेश पनि कार्यान्वयन गर्न अटेरी गरेको छ। उच्च अदालत दिपायलको ईजलास महेन्द्रनगरले दाना उद्योगीहरुका गाडीहरु तत्काल छोडन आदेश दिएपनि पशु क्वारेन्टाइन गड्डाचौकी र चेकपोष्ट कैलालीले भारतको स्वस्थताको प्रमाणपत्र नल्याए सम्म गाडीहरु नछोड्ने अडान लिईरहेका छन्। 
कुनै पनि नाकामा पशु क्वारेन्टाइनले भारतको स्वस्थताको प्रमाणपत्र नमागेपनि सुदूरपश्चिमका नाकाहरुमा मात्रै माग्न थालिएपछि उद्योगीहरु मरमा परेका छन्। उनीहरुले भन्सारमा रोकिएका गाडी छुटाउनका लागि प्रमुख जिल्ला अधिकारी हुँदै मुख्यमन्त्री सम्मलाई आग्रह गरे तर गाडी छुटाउनका लागि कसैले पनि पहल नगरेपछि उद्योगीहरु निराश भएका छन्। धनगढीका दाना उद्योगी विवेक भट्टले प्रश्न गर्दै भने ‘रिवन काटेर औद्योगीक क्रान्ती हुन्छ ?’ भएकै उद्योगहरु प्नि बन्द हुन थालेपछि सुदूरपश्चिममा कसरी औद्योगीक क्रान्ती होला ? 

उनका अनुसार कुखुरालाई आवश्यक दाना तयार पार्न झण्ढै ८० प्रतिशत कच्चा पदार्थहरु भारतमा ल्याउन पर्ने बाध्यता छ। यस क्षेत्रमा रहेका ४ जना दाना उद्योगीहरुले सरकारले जग्गाको व्यवस्थापन गरिदिए कच्चा पदार्थ पनि आफै उत्पादन गर्न तयार रहेको जनाएका छन्। तर उद्योगहरु नै बन्द हुने गरि कच्चा पदार्थको आयात बन्द हुँदा समेत प्रदेश सरकारका मन्त्रीहरु मौन बसेपछि औद्योगीक क्रान्ती सम्भव हुनेमा व्यवसायीहरुले आशंका व्यक्त गरेका हुन्।

अर्का उद्योगी मनोज अग्रवालले पशु क्वारेन्टाइनले अदालतकै आदेश कार्यान्वयन नगर्दा पनि कसैले वास्ता समेत नगरेको गुनासो गरे। उद्योगीहरुले अदालतको आदेश कार्यान्वयनका लागि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई पनि भेटे तर पशु क्वारेन्टाइनले भने आदेश कार्यान्वयन गर्न अटेरी गरिदिएको छ। व्यवसायीहरुले प्रदेशका सबै मन्त्रीहरुले विभिन्न औपचारीक कार्यक्रमको रिवन काट्दैमा औद्योगिक क्रान्ती सम्भव नभएको तर्क गरेका छन्। उनीहरुले सञ्चालनमा रहेका उद्योगहरुको समस्या र थप उद्योग सञ्चालनक लागि सरकारको उद्योग मैत्री नीति हुन आवश्यक रहेको तर्क गरेका छन्। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस