सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वी कैलालीका नागरिक कर्णालीको कटान र डुबानको त्रासमा

२०८० असार ३१, १०:१९ कमल सावद

धनगढीः  कैलालीको पूर्वी क्षेत्र कर्णाली नदीको कटानको जोखिममा रहेको छ। जिल्लाको पूर्वी क्षेत्रमा रहेको टीकापुर नगरपालिका र जानकी गाउँपालिकाको भूभाग कर्णाली नदीको कटानको जोखिममा रहेको हो। प्रत्येक वर्ष जस्तै कर्णाली नदीको बाढी बस्तीमा पसेर हैरानी हुने टीकापुर र जानकीमा यस वर्ष पनि कटान र डुबानको जोखिम कायमै छ। कर्णाली नदीले धार परिवर्तन गर्दा कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिका नदी कटानको जोखिममा परेका छन्। 

कर्णाली नदीको ९० प्रतिशत पानी जानकी र टीकापुर तिर आएको हो। नदीको १० प्रतिशत पानी बर्दियाको गेरुवा नदीतर्फ रहेको छ। कर्णालीतर्फ ९० प्रतिशत पानी रहेकाले टीकापुरका बस्ती जोखिममा रहेका हुन्। तर स्थानीय सरकारहरु योजना विहीन रहेका छन्। उनीहरुले रानीजमरा–कुलरिया सिँचाई आयोजनालाई गुहार्दै आएका छन्। 

कैलालीको टीकापुर क्षेत्रमा कर्णाली नदी कटानले बर्सेनि सयौँ बिघा जमिन कटान गर्दै आएको छ। टीकापुर नगरपालिका र जनकी गाउँपालिकाका नागरिकलाई हरेक वर्ष नदी कटान तथा डुबानको त्रासले सताउँछ। यो बर्खामा पनि कर्णालीको पानीले कटान गर्न थालेको हो। टीकापुर नगरपालिकाका तटीय क्षेत्रका नागरिक कर्णाली नदीको त्रासमा छन्। नदीमा पानीको बहाउ बढ्दै गए, कटान पनि तीव्र हुने गरेको छ। टीकापुर नगरपालिका क्षेत्रको बस्ती तथा जमिन जोखिममा रहेको बताउदै नगर उपप्रमुख खडकबहादुर शाहले बताए। उनले जिल्ला प्रशासन र रानीजमरा कुलरिया सिँचाई आयोजनासँग छलफल थालिएको बताए। उनले भने, ‘कर्णालीको बाढीले कटान गर्दैछ। हामीले जिल्ला प्रशासन र रानीजमरासँग सम्वनय गरेका छौ। जनताहरु सात्रामा छन्।’

कर्णाली नदीले टीकापुर पार्क क्षेत्रमा जोखिम बढेकाले नगरपालिकाले जमरा कुलरिया सिँचाइ आयोजनासँग गुहार मागेको छ। ठूला ढुङ्गा पाइने पालिकासँग ढुङ्गा माग गरी नदी नियन्त्रणको प्रयास गरिने भएको हो। सिँचाइ आयोजनाको मागपछि जिल्ला प्रशासन कार्यालय कैलालीले नदी नियन्त्रणका लागि आवश्यक पर्ने ठूला ढुङ्गा उपलब्ध गराउन लम्कीचुहा नगरपालिका र मोहन्याल गाउँपालिकालाई पत्र पठाएको छ। जानकी गाउँपालिकाको पूर्व खैरीफाँटा, जगतपुर शिव सामुदायिक वन, सनकट्टी तथा टीकापुर नगरपालिकाको टीकापुर पार्क, वनगाउँ क्षेत्रमा कर्णाली नदीको पानीको बहाउले कटान गर्न थालेको हो। जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले पूर्व सूचनाको तयारी गरिएको बताए। उनले नदीको कटान र ढुवानको समस्या प्रत्येक वर्ष रहेको बताए।

टीकापुर नगरपालिका–५ मा कर्णाली नदीले टीकापुर पार्कमा हरेक वर्ष क्षति पु¥याउने गरेको छ। पार्क क्षेत्र यस वर्ष बढी जोखिममा छ। यसका साथै शाहीपुर, कर्मीडाँडा, सिमे्रनीमा पनि जोखिममा रहेका छन्। कर्णाली नदीका कारण जानकी गाउँपालिका र टीकापुर नगरपालिका अधिकांश वडा कटान र डुबानको जोखिममा छन्। टीकापुरको मूलपानी क्षेत्र, कैलाशेश्वर सामुदायिक वन, जनशक्ति सामुदायिक वन क्षेत्र, रानी कुलाका कारण सीतापुर क्षेत्र पनि कटानको जोखिममा रहेको छ। 

पूर्वी कैलाली क्षेत्रमा रानीजमरा कुलरिया सिँचाइ आयोजनाले कर्णाली नदी नियन्त्रणका लागि दर्जनभन्दा बढी स्थानमा तटबन्ध निर्माण गरेको छ। केही ठाउँमा तटबन्ध निर्माणको काम गरिरहेको छ। आयोजनाले पूर्वी खैरीफाँटा, शाहीपुर, भुराखानी, वनगाउँ र टीकापुर पार्कमा तटबन्धको काम गरिरहेको हो। 


 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस