सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा चैतली मेलाका श्रद्धालुले गहुँबाली मासेपछि....

२०७६ वैशाख ६, १२:२९ डीवि विष्ट

बझाङमा चैतली मेला भर्न आएका श्रद्धालु भक्तजनहरुले पाक्नै लागेको अन्नबाली मासेपछि किसानहरु चिन्तित भएका छन्। कडा परिश्रम गरेर लगाएको गहुँ बाली श्रद्धालु भक्तजनहरुले मासेपछि हरियो नै काट्नु परेको हो। जिल्लाको छविस पाथिभेरा गाउँपालीकामा लाग्ने चैतली मेला भर्न आएका श्रद्धालु भत्तजनहरुले मासेर गहुँबाली नष्ट गरेपछि पाक्नै लगाएको गहुँ काटेर पशु चौपायालाई खुवाईरहेको स्थानीयले बताएका छन्।

मेलामा देवताको काँकर अथात् (लिङ्गो) खेतको बिचबाट लैजाजे प्रचलन रहेको छ। काँकर लैजाने क्रममा श्रद्धालुहरु समेत खेत भएर गएपछि  गहुँबाली नष्ट भएको स्थानीय गंगा सिंहले बताईन्।  विगतका वर्षहरु जस्तै यस वर्ष पनि तोल्यानीका बासिन्दाले आफ्नो खेतबारीमा लगाएको गहुँबाली भित्र्याउन नपाएको गुनासो गरे।परापुर्वकालमा महिसासुर दानवले बान्नी मष्टा देवतासंग युद्ध गरी मष्टालाई पासोमा पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्न सुर्मादेवी प्रकट भएर महिसासुरको बध गरेको खुसीयालीमा बान्नीकी चैतली मेला मनाइदै आएको पौराणिक कथन छ।

 होली पुणिर्माको दिनबाट सुरु हुने यो मेला चैत्र शुक्ल पुर्णिमा सम्म लाग्ने गर्दछ । सुर्मा देवीले भाला प्रहार गरी दानवको बध गरेको प्रतिकका रुपमा चैत्र औंसीका दिन काटेको कांकर (लिङ्गो) लाई शुक्ल त्रियोदशीका दिन तोलेनी भन्ने खेतमा हिडाउने गरिन्छ। विगतदेखी नै गहुँबाली भएर नै कांकर लैजाने चलन रहकेको स्थानीय अगुवा  विराट सिंह कठायतको बताउछन्।

 विगत पनि काँकर लैजाने क्रममा मासिने गहुँ काटेर पशु चौपायालाई खुवाइदै आएको उनले बताए। झण्डै ३० मिटरलामो कांकरलाइ  गहुँबाली लगाएको खेतबारीमा झण्डै सढे ३ सय मिटर जति हिडाउने गरिन्छ।  यसरी हिडाएर ल्याएको कांकर लाई बान्नी मष्टाको मन्दिरमा पुजा आजाका साथ चढाउने चलन रहेको छ।   
 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस