सुदूर नेपाललाई विश्वसँग जोड्दै

खत्याडी माद्यामिक विद्यालयको शैक्षिक स्थिति निरन्तर खस्किँदो

२०८० असार २८, ०८:२४ खबर संवाददाता

किरण धामी, डोटी

डोटीको बोगटान फुड्सिल गाउँपालिकामा अवस्थित खत्याडी माद्यामिक विद्यालयको शैक्षिक स्थिति निरन्तर घटिरहेको देखिएको छ।

२०३४ सालमा स्थापना भएको विद्यालयको  विगतका ३ वर्षको कक्षा १० (एसईई) को नतिजा हेर्दा शैक्षिक स्थिति कमजोर बन्दै गएको पाइएको छ। यो कक्षा १२ सम्म पठनपाठन हुने गाउँपालिकाकै एक मात्र विद्यालय हो। गत शैक्षिक सत्र २०७९ मा यश विद्यालयबाट कक्षा १० मा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या शून्य छ। गत वर्षको चैत महिनामा सञ्चालन भएको एसईई परीक्षामा यश विद्यालयबाट २८ जना सहभागी भएका थिए। यही असार २१ गते बिहीबार सार्वजनिक भएको नतिजामा कुनै पनि विद्यार्थी नियमित पास हुन नसकेको विद्यालयले जनाएको छ।

२०७८ सालबाट यसै विद्यालयमा सञ्चालन भएको प्राविधिक धार तर्फको कृषि बाली विज्ञानबाट एसईईमा ४५ जना सहभागी भएका थिए। सो सङ्ख्याबाट ३ जना मात्रै नियमित उत्तीर्ण भएको प्रधानाध्यापक शान्त बहादुर बटालाले बताए। अधिकांश विद्यार्थीले यो वर्ष गणित र विज्ञानमा कम अङ्क ल्याएका छन्। यसअघि शैक्षिक सत्र २०७७ मा ५४ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा १२ जना र ०७८ मा ५१ जनामा ७ जना नियमित उत्तीर्ण भएका थिए। प्रधानाध्यापक बटालाले यो वर्ष नतिजा कमजोर देखिनुमा विद्यालयमा पढाइ नै नभएको बताएका छन्।

शैक्षिक सत्रको पुस महिनासम्म गणित र विज्ञान विषयको पढाइ न्यून भएका कारण नतिजा कमजोर आएको प्रअ बटालाले बताए। “म आउनुभन्दा  पहिला पढाइ किन हुन सकेन मलाई थाहा छैन प्रधानाध्यापक बटालाले भने, म आएपछि माघ र फागुन दुई महिना आइएससी शिक्षकबाट कोर्स अगाडि बढायौँ, दुई महिनामा सक्दो प्रयास गर्दा पनि नतिजा राम्रो ल्याउन सकेनौँ।” आफू विद्यालयमा आउँदा विद्यार्थीहरूले पढाइ नै नभएको प्रतिक्रिया पाएको उनको भनाई छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देव बहादुर बमले राम्रो गर्न खोज्दा खोज्दै पनि नतिजा कमजोर आएको बताए। अभिभावकहरू सचेत नभएका कारण पनि विद्यालयले नतिजा राम्रो ल्याउन नसकेको अध्यक्ष बमको आरोप छ। “घरबाट आफ्ना छोराछोरी विद्यालय पठाइदिन्छन्, त्यहाँ उनीहरूले कसरी पढिरहेका छन् मतलब नै राख्दैनन्, अध्यक्ष बमले भने, छलफलका लागि बोलाउँदा पनि अभिभावक आउँदैनन्।”

विद्यालयको नतिजा हरेक वर्ष कमजोर बन्दै गएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरिरहेका छन्। पछिल्लो समय औपचारिक तथा अनौपचारिक कार्यक्रम, चिया गफ,  लगायत सामाजिक सञ्जालमा एसईईको नतिजा बारे चर्चा हुने गरेको छ। यता गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले पनि समग्र गाउँपालिका भरीकै एसईई रिजल्ट चिन्ताजनक रहेको बताएका छन्। पालिकाको शैक्षिक स्थिति सुधारका लागि केही दिन पहिला एसईई समीक्षा बैठक बसेको अध्यक्ष गड्सिलाले बताए। उनले समीक्षा बैठकबाट कार्य योजना बनाइ शैक्षिक अभियान सञ्चालन गर्ने निर्णय भएको बताए।
 

कमेन्ट लोड गर्नुस